निर्णय नं. १०३२२ - अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३२२ - अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/११/०२ ५९२८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।२ ०७४-DF-०००१ मुद्दा : अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ । पुनरावेदक / वादी : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ८ बस्ने राजेन्द्र वैद्य विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ८ बस्ने सुन्दरीमाया वैद्यसमेत अंशबन्डा गर्दा केही जग्गा बन्डा गर्न बाँकी रहन सक्ने, अंशियारहरूबिचको व्यावहारिक तथा अन्य कारणले गर्दा बन्डा गर्नुपर्ने अवस्थाको सम्पत्ति बन्डा नगरी त्यसै राखिने अवस्था पनि हुन्छ । अंशबन्डाको ३५ नं. को व्यवस्था गर्नु पर्नाका कारण पनि बन्डा हुन बाँकी सम्पत्तिलाई व्यवस्थित गर्ने प्रयोजनको लागि नै हो भन्ने उक्त कानूनी व्यवस्थाको अध्ययनबाट देखिने । (प्रकरण नं.८) कानूनमा नै अंशहक समाप्त हुने आधारहरूको बारेमा स्पष्टरूपमा उल्लेख भएको अवस्थामा त्यस्तो अवस्थाको विद्यमानता भएको आधारमा अंशहक समाप्त हुने अवस्था रहन्छ तर त्यस्तो अवस्था नभएसम्म अंशजस्तो नैसर्गिक हक समाप्त हुने गरी गरिने कानूनको व्याख्याबाट न्यायको अभिष्ट पूरा हुन सक्ने अवस्था नरहने । अंशबन्डासम्बन्धी कानूनमा अंशबन्डा लिखतमा उल्लेख नभएको जग्गा जसको नाउँमा रहेको छ उसकै हुने भन्ने उल्लेख भएको देखिँदैन । बरू कानूनले त्यस्तो जग्गाको हकमा नालिस लाग्न सक्नेतर्फ मार्ग प्रशस्त गरेको देखिन्छ । यस्तो अवस्थामा त्यस्तो जग्गाको प्रकृतिको आधारमा बन्डा लाग्ने नलाग्ने भन्ने कुराको न्यायिक निर्क्योलमा पुग्न सकिने अवस्थालाई प्रस्ट रूपमा इङ्गित गरेको अवस्था देखिने । (प्रकरण नं.१०) अबन्डा जग्गा बन्डा हुने नहुने सम्बन्धमा देवनाथ साह तेली विरूद्ध नन्दु साह तेलीसमेत भएको मुद्दामा गरिएको व्याख्या वा प्रतिपादित सिद्धान्त कानून एवं न्यायसम्मत रहेको देखिन आयो । तसर्थ यस अदालतबाट वादी रामलखन यादवसमेत वि. रामलाल अहिरसमेत भएको (संवत् २०६७ सालको दे.पु.नं. ०६७-CI-०३९५) को अबन्डा जग्गा बन्डा गरिपाउँ मुद्दामा प्रतिपादित सिद्धान्त अमान्य हुने । (प्रकरण नं.१२) आमाको नाउँको सम्पत्ति जुनसुकै तरिकाबाट आर्जन गरेको सम्पत्ति भएपनि सन्तानहरूको लागि पैतृक सम्पत्तिसरह हुने । (प्रकरण नं.१७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री ओमकाजी प्रजापति र गोपाल श्रेष्ठ प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री कमलमणि श्रेष्ठ र श्री धनबहादुर ए.सी. अवलम्बित नजिर : ने.का.प.२०६९, अंक ६, नि.नं.८८४६ ने.का.प.२०७३, अंक १२, नि.नं.९७२५ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- मा. जिल्ला न्यायाधीश श्री लेखनाथ रेग्मी काभ्रेपलाञ्चोक जिल्ला अदालत पुनरावेदन अदालतमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र माननीय न्यायाधीश श्री सत्यराज गुरूङ फैसला न्या.टंकबहादुर मोक्तान : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) एवं हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा मिति २०७४/५/५ मा यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०४९ को न