निर्णय नं. १०३२३ - भ्रष्टाचार (घुस / रिसवत)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३२३ - भ्रष्टाचार (घुस / रिसवत) भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/१२/२० ४१२९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।१२।२० ०७४-CR-०१०८ मुद्दाः भ्रष्टाचार (घुस / रिसवत) पुनरावेदक / प्रतिवादी : का.जि. बुढानिलकण्ठ नगरपालिका घर भई हाल सोही नगरपालिकाको वडा नं. १२, १३ र १४ को संयुक्त वडा सचिव पदमा कार्यरत श्याम अधिकारी विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार विज्ञान र प्रविधिको सहायताले आफूसँग घुस रिसवत मागेको बोली बोलेको, फोन वार्तालाई रेकर्ड गरिएको र सोलाई प्रविधिको मद्दतले लिपिबद्ध गरी प्रमाणको रूपमा पेस गरेकोलाई न्याय निरूपण गर्दा महत्त्वपूर्ण प्रमाणकै रूपमा मूल्याङ्कन गर्नु पर्ने । (प्रकरण नं.८) रेकर्ड गरिएको बोली प्रतिवादीकै हो भनी निश्चित भएको हुनु पर्दछ । रेकर्डलाई कुनै परिवर्तन (Tampering) गरिएको हुनु हुँदैन । यस्तो रेकर्डलाई कुनै परिवर्तन गरेको शंका वा सम्भावना भएमा आवाज पुनः निश्चित गरिनु पर्दछ । कुनै पनि किसिमबाट आवाज परिवर्तन (Tampering) भएको हुनु हुँदैन । कुनै किसिमबाट गरिएको रेकर्डलाई परिवर्तन गर्ने सम्भावना भएमा वा निश्चित नभएमा वैज्ञानिक परीक्षण हुनु पर्ने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ओमप्रसाद थपलिया, विद्वान् अधिवक्ताहरू श्री हरिप्रसाद फुयाँल र श्री भरत कार्की प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७४, अंक ९, नि.नं.९८८० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ भ्रष्टाचार निवारण ऐन, २०५९ सुरू अदालतमा फैसला गर्नेः- अध्यक्ष मा. न्यायाधीश श्री मोहनरमण भट्टराई सदस्य मा. न्यायाधीश श्री पवनकुमार शर्मा सदस्य मा. न्यायाधीश श्री महेशप्रसाद पुडासैनी विशेष अदालत काठमाडौं फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : विशेष अदालत काठमाडौंको मिति २०७४।१।२५ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीको तर्फबाट पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ मा रहेको कि.नं. १४० को १०८१.०७, कि.नं. १४२ को १६६.९३ र कि.नं. ३९२ को ७९०.०४ बर्ग मिटर जग्गाको जग्गाधनी बबिता शाह भई कि.नं. १४० को जग्गाको मोही भालुबीरबहादुर श्रेष्ठ र कि.नं. १४२ एवं ३९२ को जग्गाको मोही पोडे कान्छा रहेछन् । निज मोहीहरूले जग्गा कमाउन छोडेकाले जग्गाधनी बबिता शाहले मोही लगत कट्टाको सिफारिस पाउँ भनी मिति २०७१।१२।२९ गते निवेदन दिएर कारबाही प्रक्रिया अगाडि बढाई निज जग्गाधनीले सो काम सम्पन्न गर्न मलाई सहयोग गरी दिन अनुरोध गरेकाले म मिति २०७२।१।३ गते वडा कार्यालयमा गई त्यस विषयमा कुराकानी गर्दा वडा नं. १२,१३ र १४ का संयुक्त वडा सचिव श्याम अधिकारी र कार्यालय सहायक मुकुन्द खड्काले सो काम गर्न आनाकानी गरी वडा सचिवले रू. ५०,०००।– र कार्यालय सहायक मुकुन्द खड्काले रू. १,६०,०००।– घुस रिसवत मागेकाले निजहरूलाई उक्त रकम दिन यस आयोगबाटै मलाई रकम उपलब्ध गराई पाउँ भन्नेसमेत बेहोराले लेखनदास भाइनारायण श्रेष्ठले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको निवेदन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विभिन्न नम्बर भएका हजार दरका २१० थान नोटको हुने रू. २,१०,०००।- रूपैयाँ निवेदक / उजुरकर्ता भाइनारायण श्रेष्ठले मिति २०७२।४।२८ मा बुझेर गरेको भर्पाई मिसिल सामेल रहेक