निर्णय नं. ४४०७ - मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४०७ - मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ । भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०८/२९ २४६२ निर्णय नं. ४४०७ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४८ सालको रि.नं. १६३८ आदेश भएको मिति: २०४८।८।२९।१ मा निवेदक : जिल्ला कार्यालय कारागार सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेको फदुमो अलि अहमदका हकमा दिपककुमार बुढाथोकी विरुद्ध विपक्ष : त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमेत मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ । (१) निवेदिकाले आफ्नो शरिरको भित्री भागमा बे्रसियर र अण्डरवियरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदिकाको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम चोरी पैठारीको परिभाषा भित्र पर्ने देखिन आएको छ । अतः भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) को अभियोग लगाएको मिलेन भन्ने बहस जिकिर संग सहमत हुन नसकिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी र विद्वान अधिवक्ता श्री आशिकराम कार्की विपक्ष, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात (साविक पेज नं. ७१३) अवलम्वित नजीर : ने.का.प. २०४५, अंक ६, पुष्ठ ५६७ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदिकालाई भन्सार चोरी पैठारी मुद्दामा भन्सार ऐन, २०१९ को दफा ३४ को (क) बमोजिमको अभियोग अन्तर्गत मुद्दा चलाई हाल मुद्दाको पूर्पक्षको सिलसिलामा थुनामा राखिएको कुरा मेरो कानुन व्यवसायीले ०४८।३।२५ मा नक्कल सारी लिएपछि निजले मसंग एकै मुद्दाका सिलसिलामा सदरखोरमा थुनामा रहेकी हमी अलि अहमदलाई बताएपछि निजले मलाई बताउँदा ज्ञात हुन आयो । म सन् १९९१ अप्रिल २७ तारेखका दिन अर्थात मिति २०४८।१।१४ गते थाई इन्टरनेशनल विमान सेवाको बैंकक काठमाडौं उडान सेवाबाट काठमाडौं आएकी हुँ । सोमालियामा भएको अशान्त स्थितिको कारणले म विदेशिन बाध्य भएकी र सोमालियाको मुद्राको मूल्य अमेरिकी डलरको तुलनामा ज्यादै नै कम भई मौद्रिक सम्पत्ति या त बैंकमा जम्मा गर्नु पर्ने या त सुनमा परिवर्तन गर्नु पर्ने भई आफ्नो व्यक्तिगत सम्पत्तिलाई सुरक्षित रुपमा आफैंसंग राख्नका लागि सुनमा परिवर्तन गरी सोही सुन लिई नेपाल आउँदा विपक्षी नं. १ द्वारा जफत गरिएको हो । म सोमालियन भाषा भन्दा अरु भाषा नजान्ने र प्रज्ञापनपत्र अंग्रेजी भाषामा उपलब्ध गराइएकोले सो भर्ने असमर्थता जाहेर गरी आफूसंग भएको सुन ३ किलो २० ग्राम र अमेरिकी डलर १२०० समेत देखाएको र स्वयं विपक्षी नं. १ का कर्मचारीद्वारा प्रज्ञापनपत्र भरी मलाई सही गर्न लगाएबाट मैले देखाएका सामानको वास्तविक विवरण उल्लेख भएको भन्ने विश्वासमा परें । मैले भन्सार ऐन, २०१९ एवं आर्थिक ऐन, २०४४ बमोजिम लाग्ने भन्सार महसूल तिरी उक्त सुन ल्याउने उद्देश्यले भन्सार ऐन, २०१९ को दफा ५ बमोजिमको दायित्व पूरा गरेको हुँ । विपक्षीले भन्सार ऐन, २०१९ को दफा २१, मुलुकी ऐन अ.बं. को १२१ नं. एवं नेपाल अधिराज्यको संविधानको धारा १४(५) को प्रकृयाको पालना नगरी मलाई थुनामा राखी मेरो वैयक्तिक स्वतन्त्रताको अपहरण गर्न मिल्ने होइन ।