निर्णय नं. १०३२७ - राज्य विरूद्धको अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३२७ - राज्य विरूद्धको अपराध भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/०३ ३५९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।५।३ ०७४-CR-१८२४ मुद्दाः- राज्य विरूद्धको अपराध पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब निरीक्षक रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया मोहम्मदपुर गा.वि.स. वडा नं.४ वहीपुर बस्ने गोब्रे खाँनको नाति ईमाम खाँनको छोरा स्वतन्त्र मधेस गठबन्धन केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेत हातहतियार र विष्फोटक पदार्थको प्रयोग नगरी कुनै डर-त्रास वा आतङ्क बिना राजनीतिक विचारधाराको उद्देश्य पूर्तिका लागि जनताको स्वतःस्फूर्तरूपमा सहभागिता गराई अन्तर्क्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन, संगठन विस्तार र नमुना जनमत संग्रह जस्ता कार्यहरू गैरकानूनी हुन्छन् भनी मान्न नसकिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७३, अंक ३, नि.नं.९५६३ सम्बद्ध कानून : राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ सुरू तहमा फैसला गर्नेः सदस्य मा. न्या. श्री रत्नबहादुर बागचन्द सदस्य मा. न्यायाधीश श्री चण्डीराज ढकाल सदस्य मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य विशेष अदालत काठमाडौं । फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.११ स्थित पूर्वमा रंगशाला जाने पक्की सडक, पश्चिममा टाँगा स्टेशन जाने बाटो, उत्तरमा त्रिभुवन चोक जाने गल्ली, दक्षिणमा महेन्द्र पार्कको पर्खाल यति चारकिल्लाभित्र रहेको महेन्द्र पार्कमा स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँनसमेतले पार्कमा जम्मा भएका मानिसहरूलाई भेला गराई मधेसलाई नेपाल राज्यबाट अलग गरी स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी कार्यक्रम गरिरहेको अवस्थामा सो स्थानबाट स्वतन्त्र मधेस गठबन्धनको घोषणा-पत्र थान १, ‘अब क्या देखना बाँकी है’ लेखिएको पम्पलेट थान २८५, बैठक रजिस्टर थान १, डायरी थान ३, स्वतन्त्र मधेस गठबन्धन बाँकेको छाप थान १ समेत बरामद भएको भन्ने बेहोराको मिति २०७२।१२।०६ गतेको खानतलासी बरामदी मुचुल्का । मिति २०७२।१२।०६ गते जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ स्थित महेन्द्रपार्कभित्र सि.के. राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खाँन, बाँके / बर्दिया संयोजक ईरफान अहमद शेष, बाँके संयोजकहरू हरपाल सिंह, राम मनोहर यादवसमेतले पार्कमा रहेका मानिसहरूलाई जम्मा गरी मधेसलाई नेपाल राज्यबाट अलग्याई छुट्टै स्वतन्त्र मधेस देश निर्माण गर्ने भनी राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पुग्ने गरी कार्यक्रम गरी घोषणा पत्र, पर्चा पम्प्लेटहरू बाँडेकाले निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी नायब निरीक्षक रमेशबहादुर चन्दसमेतको प्रतिवेदन जाहेरी । वादी नेपाल सरकार प्रतिवादी अब्दुल खाँनसमेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्