निर्णय नं. १०३२९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३२९ - परमादेश भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/१५ २७२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।५।१५ ०६९-WO-१२८१ विषयः परमादेश निवेदक : इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ८ बस्ने टंकबहादुर निरौला विरूद्ध विपक्षी : शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत अवकाश दिएको अवधिलाई स्वतः अमान्य गरी सेवामा पुनर्स्थापना गरेको पाइन्छ । अवकाश दिएको कार्यलाई अमान्य गरी अवकाश नपाएसरह सेवामा पुनर्स्थापना मानेर पुनर्बहाली गरेकोले त्यस्तो स्वेच्छाचारी किसिमले अवकाश दिएको अवधिलाई नोकरी टुटेको अवधि मान्‍न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री बद्री पाठक र श्री हरिबहादुर कार्की विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कैलाश के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा नियमावली (छैठौं सैशोधन), २०२८ शिक्षा नियमावली (संशोधनसहित), २०५९ आदेश न्या.केदारप्रसाद चालिसे : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम निवेदन पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- म निवेदक जिल्ला शिक्षा समितिले स्वीकृत गरेको दरबन्दीमा जिल्ला शिक्षा सेवा आयोगको सिफारिसबमोजिम प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई २०३० साल फागुन १ (एक) गतेदेखि नवीन प्रगति प्राथमिक विद्यालय इलाममा कार्यरत थिएँ । त्यसपछि जिल्ला शिक्षा सेवा आयोगको सिफारिसबमोजिम २०३३ साल असार ३१ गते श्री आदर्श व्यावसायिक माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको शिक्षक पदमा नियुक्ति पाएँ । यी दुवै नियुक्तिबमोजिम निरन्तर रहेको मेरो सेवाअनुरूप त्यहाँबाट श्री सिंहदेवी माध्यमिक विद्यालय, आमचोक, इलाममा सरूवा भयो । सिंहदेवी माध्यमिक विद्यालयमा कार्यरत रहेकै अवस्थामा बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको भनी पूर्वाग्रह राखेर शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ (क) को (ङ) अनुसार काम गरेको देखिएको हुनाले शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ (ख) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम पर्चा गरी शिक्षा नियमावली, २०२८ को छैटौं संशोधनसहितको नियम ४७ को खण्ड (ङ) बमोजिम भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्चल, धरानको निर्णयअनुसार भनी शिक्षा शाखा इलामको च.नं.२/०३७/३८ को पत्रअनुसार मिति २०३७ साल पुस मसान्तदेखि शिक्षकको सेवाबाट जबरजस्ती हटाइयो । मलाई सेवाबाट हटाइनुको कारण पञ्‍चायती व्यवस्थाको प्रतिशोधपूर्ण व्यवहार भएको कुरामा विवाद छैन । विक्रम संवत् २०४६ सालको परिवर्तनपछि जिल्ला शिक्षा निरीक्षकको कार्यालय, इलामको च.नं. ५०६ को पत्रानुसार सो कार्यालयको मिति २०४८ साल भदौ २० गतेको निर्णयबमोजिम सुरूको स्थायी नियुक्ति मिति कायम हुने र नयाँ तलबमानअनुसारको तलब तथा अवकाशप्राप्त गरेको अवस्थामा खाइपाई आएको ग्रेड संख्यामा थप एक ग्रेड बहाल रहेको अवधिदेखि खान पाउने गरी मेरो शिक्षा सेवाको पुनः बहाली भयो । त्यसअनुसार श्री आदर्श माध्यमिक विद्यालय, इलाममा अध्यापन गर्दै आएकोमा मिति २०५८ साल वैशाख १ गते श्री अमर उच्च माध्यमिक विद्यालय बरबोटे, इलाममा सरूवा भयो । सो विद्यालयमा कार्यरत रहँदाकै अवस्थामा शिक्षक सेवा आयोगको मिति २०६८/८/९ गतेको निर्णयअनुसार ज्येष्ठताका आधारमा निम्न माध्यमिक तहको द्वितीय श्रेणीको शिक्षक प