निर्णय नं. ९१९३ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१९३ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०३/२६ ३६०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।३।२६।५ ०६७-WO-०११४ विषय : उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला मोरङ, साविक हरैचा हाल इन्द्रपुर गा.वि.स. वडा नं. ६ बस्ने सैनी उरामन विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय, मोरङसमेत § मोही को हो भन्ने कुरा नै स्पष्ट गर्न नसक्नेले मोहीबाट यो यस्तो काम भयो भनी भनेको कुरामा भर गर्नु उचित नहुने । (प्रकरण नं. ४) § मोही भागे बेपत्ता भएको निवेदनमात्र परेको सो भन्दा पहिले जग्गाधनीले मोहीहरूले जग्गा नजोती आफैंले जग्गा जोतेको भन्ने आधारमा लगत कट्टाको माग गरेकोले विपक्षी जग्गाधनीले प्रस्तुत विषयमा उजुरी गरेको अवस्थामा उजुरी पर्नु भन्दा पहिलाको सरजमिनलाई प्रमाणमा लिई निवेदकको मोही लगत कट्टा गरेको विपक्षी कार्यालयको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ र मुलुकी ऐन, अ.बं.१८४क र १८५ नं. समेतको त्रुटि रहेको देखिने । (प्रकरण नं. ६) § दावी भन्ने कुरा संशोधन वा फेर्न पाइँदैन । यस मुद्दामा विपक्षी जग्गाधनीले मुद्दा गर्नुपर्ने कारण (cause of action) र सोको दिन, मितिसमेत नखुलाई मोहीहरूले जग्गा नजोती आफूले जग्गा जोतेकोले लगतकट्टा गरी पाउँ भनी दावी लिएकोमा त्यसमा आमूल परिवर्तन गरी मोहीहरू जग्गा जोत्न छाडी १५।१६ वर्ष अघिदेखि भागी बेपत्ता भएको भनी बिल्कुल नयाँ दावी लिएको देखिन्छ । सो दफा २६(१)(ग) बमोजिम मोही लगत कट्टाको लागि मोही भागे बेपत्ता भएको २५ दिनभित्र जग्गावालाले लिखित सूचना दिनुपर्ने हदम्यादको अवस्था बाध्यात्मक भएकोमा मूल उजुरीमा मोहीहरू भागे बेपत्ता भएको भन्ने कुरा उल्लेख नै छैन भने पछिल्लो निवेदनमा कुन साल महिना गतेबाट भागे बेपत्ता भएको सोबारे कुनै कुनै कुरा उल्लेख छैन । सबै मोहीहरू एकै वर्ष र दिनसमयमा भागी बेपत्ता भए भन्ने कुरा अत्यन्त कपटपूर्ण हुने । (प्रकरण नं. ७) § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) मा कुनै मोहीले जग्गा छोडी भागेमा वा बेपत्ता भएमा वा तोकिएबमोजिम कूत नबुझाई मोहियानी हक समाप्त भएमा सो कुराको जग्गावालाले लिखित सूचना तोकिएको अधिकारीछेउ २५ दिनभित्र दिनुपर्दछ र तोकिएको अधिकारीले सो कुरा जाँचबुझ गरी दफा २५ को उपदफा (४) को खण्ड (ख) बमोजिम दर्ता किताबमा सच्याउनुपर्दछ भनी उल्लेख भएकोमा उल्लिखित मोहीहरू जग्गा छोडी भागेको हो वा बेपत्ता भएको हो वा के भएको हो सो कुरालाई स्पष्ट गरेर मात्र कारवाही चलाउनुपर्ने दायित्वलाई विपक्षी जग्गाधनीले पूरा गर्नुपर्नेमा सो पूरा गरेको पाइँदैन । जग्गा छोडी भाग्नु र बेपत्ता हुनुमा फरक हुन्छ । व्यक्ति मात्र पनि बेपत्ता हुन सक्ने हुँदा बेपत्ता हुने मोहीको घरद्वार हरअवस्थामा समाप्त हुन्छ भन्ने होइन । सामान्यतया काबुभन्दा बाहिरको कारणबाट व्यक्ति बेपत्ता हुन्छ भने व्यक्तिले भाग्ने काम जानी बुझी गर्छ । जग्गा छाडी भाग्ने व्यक्ति जीवित रहने र अन्यत्र बसोबास गर्ने सम्भावना कायम रहन्छ भने बेपत्ता व्यक्ति जीवित रहेको सम्भावना क्षीण हुन्छ । यसप्रकार यी दुईमा तात्त्विक भिन्नता रहेको अवस्थामा ती सब कुरालाई प्रष्ट नगरी सबै कुरा एकआपसमा मिसामिस गरेको विपक्षी जग्गा धनीको कामकारवाही भ्रमात्मक देखिने । (प्रकरण नं. ८) § मोही भागे वा बेपत्ता भएको भन्ने कुरामा जग्गाधनी नै अड्न सकेको देखिँदैन । भूमिसुधार कार्यालयले लिखितजवाफ दिएर निर