निर्णय नं. १०३४१ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४१ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०२/२३ ४०१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७६।२।२३ ०७५-WO-०२७१ मुद्दा: उत्प्रेषण / परमादेश निवेदक : पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका वडा नं. २२ बस्ने शिवलाल साहको छोरा वर्ष १९ को सुनिल साह विरूद्ध विपक्षी : डिनको कार्यालय, त्रिभुवन विश्‍वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, ललितपुरसमेत एउटा सन्तानले समान हैसियत र अवस्थामा नागरिकता प्राप्त गर्ने र अर्को सन्तानले नागरिकताविहीनताको असहज परिस्थितिको सामना गर्नुपर्दा समानता र समन्याय पराजित हुन पुग्दछ । यस्तो अवस्था स्वीकार्य हुन नसक्ने । नागरिकता प्राप्त गर्न सक्ने संविधान प्रदत्त हक भएको निवेदकले नागरिकता प्राप्त गर्न नसकेको कारण अध्ययन गर्न नपाउने परिस्थिति उत्पन्‍न हुन पुग्यो र निवेदकले शिक्षासम्बन्धी हकबाट वञ्‍चित हुने अवस्था पर्‍यो भने निवेदकलाई वास्तवमा नै अन्याय हुन पुग्ने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुनिलकुमार पटेल र श्री रक्षाराम चमार विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६८, अंक २, नि.नं.८५५७ सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ:- म निवेदक जिल्ला पर्सा, साबिक विन्दवासिनी गा.वि.स. वडा नं. ७ हाल वीरगन्ज उपमहानगरपालिका वडा नं.२२ मा जन्म भई १९ वर्ष पुगेका शिक्षित नेपाली नागरिक हुँ । मेरो आमा मन्जुदेवी साह वंशजको आधारमा र बुबा शिवलाल साह जन्मको आधारमा नेपाली नागरिक हुनुहुन्छ । म अति राम्रो अंक ल्याई प्रमाणपत्र तह उत्तीर्ण गरी हाल त्रिभुवन विश्‍वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा इन्जिनियरिङ अध्ययनको लागि प्रवेश परीक्षासमेत उत्तीर्ण गरिसकेको छु । प्रवेश फाराम भर्दा नागरिकता अनिवार्य थिएन । तर अहिले आएर संस्थानको सूचनाअनुसार भर्ना हुन जाँदा नागरिकता अनिवार्य रूपमा चाहिने क्याम्पस प्रशासनले आदेश दियो । डिनको मौखिक आदेश छ, उहाँको अनुमतिबिना तपाइँको नागरिकता प्रमाण पत्र नभएकाको भर्ना लिन नमिल्ने भन्दै पश्‍चिमाञ्‍चल क्याम्पस प्रशासनले मेरो भर्ना गर्न मानेको छैन । यसरी पुल्चोक क्याम्पसको अति गाह्रो प्रतिस्पर्धामा उत्तीर्ण गरिसकेपछि मेरो पढ्न पाउने स्थापित कानूनी हक भैइसकेपछि र नेपालको संविधानबमोजिम नेपाली नागरिक हुन पाउने योग्यतासमेत भएकोमा मलाई प्राविधिक कारण नागरिकताको अभावमा मात्र भर्ना नलिनु भनेको नेपालको संविधानको धारा १०(१), ११(२ख), ११(३), १८(१) धारा ३१ लगायत पढ्न पाउने मौलिक हकहरूको उल्लङ्घनका साथै सम्मानित सर्वोच्च अदालतबाट यसभन्दा अगाडि स्थापित नजिरहरूको विरूद्धसमेत भएकोले अन्य प्रभावकारी उपचारको अभावमा सम्मानित अदालतले ग्रहण गर्ने असाधारण क्षेत्राधिकारअन्तर्गत यो निवेदन गर्न आएको छु । म निवेदकको आमा र बाबु दुवै नेपाली नागरिक रहेको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र लिन आवश्यक रहेकोले नेपाली नागरिकताको फाराम भरी आमाको नाउँको नेपाली नागरिकता पेस गरी नेपाली नागरिकता पाउँ भनी मिति २०७३ भदौ २७ गते वीरगन्ज उपमहानगरपालिका वडा नं. २२ को कार्यालयमा म निवेदक र मेर