निर्णय नं. १०३४४ - निर्णय पर्चा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३४४ - निर्णय पर्चा दर्ता बदर भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०१/०६ २९०७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही ०७२-DF-०००२ मुद्दाः निर्णय पर्चा दर्ता बदर । पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला वीरगन्ज उ.म.न.पा. वडा नं. २ बस्ने महम्मद खलिल मियाँ विरूद्ध विपक्षी / वादी : पर्सा जिल्ला वीरगन्ज उ.म.न.पा. वडा नं. ७ बस्ने आसमा बेगम केवल फिराद पत्रमा जिमिदारबाट चलन पुर्जी पाएको भन्ने जिकिर मात्र हकको स्रोत नहुने । अचल सम्पत्तिसम्बन्धी विवादमा आफ्नो हकको दाबी गर्ने पक्षले त्यस्तो हकको स्पष्ट स्रोत देखाउन सक्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सबिता भण्डारी बराल र श्री बालमुकुन्द श्रेष्ठ विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सर्वोच्च अदालत नियमावली, २०४९ सुरू फैसला गर्नेः मा.जि.न्या. श्री तीर्थराज देवकोटा पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री गौरीबहादुर कार्की पुनरावेदन अदालत हेटौंडा यस अदालतको संयुक्त इजलासमा फैसला गर्ने: मा.न्या.श्री गोपाल पराजुली मा.न्या.श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीशहरूबिच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड मेरा पति अब्दुर जब्बारले पशुपति आदर्शनगर निर्माण समिति वीरगन्जबाट र.नं. ३९८ मिति २०३१/६/२१ मा तत्कालीन भूमि प्रशासन कार्यालय पर्साबाट रजिस्ट्रेसन पास गराई खरिद गर्नुभई भोग गर्नुभएको पर्सा जिल्ला वीरगन्ज न.पा. कि.नं. नभएको १ नं. पुलको उत्तरतर्फको पंखीमाथिको जग्गा उत्तर-दक्षिण ५५ फुट र पूर्व-पश्चिम २९२६” फिट र बाटो बनाउने र सेप्टी टेङ्क बनाउन ५ फिटसमेतको ज.वि. ०-०-८.९० आठ धुर नब्बे प्वाइन्ट सर्भे नापी नभएको जग्गा हो । सो जग्गा मेरो पति अब्दुल जब्बारले खरिद गर्नुभएकोमा सो जग्गामा नक्सा पास गर्दा पहिलो तथा दोस्रो तलासम्म बनाउन दिने गरी मिति २०४२।१२।१० मा तत्कालीन वीरगन्ज नगर पञ्चायतबाट नक्सा पास भएको छ । सो नक्सा पासबमोजिम मेरो लोग्नेले उक्त जग्गामा घर बनाई निर्विवाद रूपमा भोगचलन गरी आउनुभएको थियो । मेरो पति अब्दुल जब्बारले मलाई मालपोत कार्यालय पर्साबाट र.नं. ४२२ मिति २०४३।५।१६ मा पारित गरिदिएको हालैको बकसपत्र लिखतबमोजिम रजिस्ट्रेसन गराई पास गरिलिएको मेरो हकभोगको पर्सा जिल्ला वीरगन्ज न.पा. वडा नं. ७ को निज दाता अब्दुल जब्बारको घरजग्गादेखि उत्तर, अफताब मियाँ (बिबि सरिफन) र अनवर मियाँदेखि पूर्व, मुरलीधर शर्मा र श्रवनकुमार शर्मादेखि पश्चिम र नालादेखि दक्षिण यति चार किल्लाभित्रको नापी नभएको घरबासको घडेरी ०-०-१२ जग्गासमेत मैले निर्विवाद भोगचलन गरी आएको थिएँ । सो १२ धुर जग्गामध्ये केही जग्गा प्रतिवादी महमद खलिलका दाजु अनवर मियाँले कब्जा खिचोला गरेकोले निजउपर दे.नं.१८६८ को खिचोला मेटाई चलन मुद्दा मैले पर्सा जिल्ला अदालतमा दायर गरेकोमा खिचोला ठहरी २०४४।११।१६ मा फैसला भएको छ । त्यस्तै मैले अफताब मियाँउपर दे.नं. १८६७ को खिचोला मेटाई टप छज्जा भत्काई चलन मुद्दा