निर्णय नं. १०३४५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३४५ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/११/०२ ३०६४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।२ ०७४-NF-००१४ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयको तर्फबाट ऐ.को सचिव शंकरप्रसाद कोइराला विरूद्ध विपक्षी : सप्तरी जिल्ला पकरी गाउँ विकास समिति वडा नं.६ घर भई हाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, नयाँ बानेश्वर काठमाडौंमा राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा कार्यरत धीरकुमार श्रेष्ठ कानूनमा व्यवस्था भएको सुविधा जुन वर्गको लागि प्रदान गरिएको हो सोही वर्गको लागि हुने तर त्यस्तो सुविधा ग्रहण गर्ने वा नगर्ने भन्ने कुरा सो वर्गको व्यक्तिको इच्छामा निर्भर रहने । (प्रकरण नं.९) कार्य सम्पादनमा नै कम वा बेसी अङ्क प्राप्त गर्नेको हकमा औसतमा सो प्रतिबिम्बित हुन्छ र सो कुरा औसतसँग सम्बन्धित नभई कार्य सम्पादनसँग सम्बन्धित हुँदा त्यसलाई अस्वाभाविक मान्न नमिल्ने । (प्रकरण नं.१३) निजामती सेवा ऐन, २०४९ को दफा २१(२) अन्तर्गत लाभ प्राप्त गर्न सक्ने अवस्थाका व्यक्तिले पनि दफा २१(१) अन्तर्गतको सामान्य सर्तहरू पूरा गरेको अवस्थामा दफा २१(१) कै प्रक्रियाबाट बढुवा पाउने कुरामा कुनै प्रतिबन्ध लगाएको नदेखिने । (प्रकरण नं.१४) निवेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री विनोद श्रेष्ठ र श्री सिताशरण मण्डल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ निजामती सेवा ऐन, २०४९ यसअघि आदेश गर्नेः- सर्वोच्च अदालत, संयुक्त इजलास यसअघि आदेश गर्ने न्यायाधीशः माननीन न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरिपाउँ भन्ने निवेदन परी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४/१२/२९ को पुनरावलोकनको अनुमति प्रदान गर्ने आदेशबमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- म निवेदक आफ्नो योग्यता र क्षमताको आधारमा राजप्रासाद सेवाअन्तर्गत मिति २०५२।९।१ देखि प्रमुख निजी सचिवालय राजदरबारको शाखा अधिकृत पदमा नियुक्ति पाई सेवा प्रारम्भ गरी आएको थिएँ । सोही क्रममा मिति २०५८।१।१ देखि लागू हुने गरी प्रमुख निजी सचिवालयको सहायक निजी सचिव (उपसचिव) पदमा बढुवा भई इमान्दारीपूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गरी आएकोमा उक्त राजप्रासाद सेवाबाट मिति २०६५ सालमा नेपाल विविध सेवा, विशेष समूहमा समूहीकृत भई हाल सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा कार्यरत रही आएको छु । यसै क्रममा नेपाल विविध सेवा, विशेष समूह राजपत्राङ्कित प्रथम श्रेणीको रिक्त पद संख्या १ मा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाका लागि लोक सेवा आयोग सूचना तथा प्रशासन शाखाबाट जारी भएको सूचना नं. ७२/०७०-७१ को सूचनाअनुसार म निवेदकले समेत बढुवाको लागि लोक सेवा आयोगले निर्धारित गरेबमोजिम फाराम भरी आयोगसमक्ष बुझाएको थिएँ । मेरो कार्यक्षमता मूल्याङ्कनको आधारमा म निवेदक बढुवाको लागि सिफारिस हुनुपर्नेमा सामान्य प्रशासन मन्त्रालय, बढुवा समिति, बढुवा समितिको सचिवालयको मिति २०७१।१।१०, बैठक संख्या