निर्णय नं. ४४०९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४०९ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/१३ २२६० निर्णय नं. ४४०९ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्दप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको फौज्दारी पु.नं. २१८,२५३, साधक नं. ४९ फैसला भएको मिति : २०४८।१०।१३।२ मा पुनरावेदक/वादी : डिलमायाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : स्याङजा जि., घुम पोखरा गा.वि.स. वा.नं.९ बस्ने मिनकुमारी श्रेष्ठ पुनरावेदक/प्रतिवादी : कारागार शाखा स्याङजामा थुनामा रहेका मीनबहादुर श्रेष्ठ विरुद्ध वादी : डिलमायाको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन, इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनु पर्ने । (प्रकरण नं. ५०) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या.सुरेन्द्र्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुबै तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य पुनरावेदन जिकिर र निर्णय यस प्रकार छ । २. २०४२।५।१३ गते रु. २५,०००।– लिई, रुपन्देही जिल्लाको खैरेनीमा गई ज्वाईका नाउँमा जग्गा खरिद गरी आउँछु भनी घरबाट हिंडेको, मामा श्यामबहादुरसंग भेट भई, पर्सी जाउँला भनी मामा–भान्जा घर जाँदैको अवस्थामा डुम्रे भन्ज्याङमा दोकान गरी बस्ने मिनबहादुर, नरबहादुर, अम्बरबहादुर, धनबहादुर समेत मीनबहादुरको दोकानमा रक्सी खाई रहेका, मृतक कर्णबहादुर र निजको मामा बाटो बाटै घर फर्की रहेको, यत्तिकैमा कर्णबहादुरलाई निजहरुले कुटपिट गरी मारी, राती नै कालीकाकोटमा लगी राखेको बुझिएकोले निजहरुलाई कानुन बमोजिम कारवाई गरी पाउँ भन्ने समेत व्यहोराको डिलमायाको जाहेरी दर्खास्त । ३. २०४२।५।१३ गते मृतक कर्णबहादुरले घर छाडि हिंडेका, छोरा आएन भनी निजको आमाले खोज (साविक पेज नं. ७२२) गर्दै जाँदा गेडले भन्ने ठाउँमा लाश फेला परेकाले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुरको जाहेरी दर्खास्त । ४. शरीरको विभिन्न भागमा चोट पटक लागेको, टाउको र गर्दनमा काटिएको घाउ, अत्यधिक रगत बग्नाको कारणबाट मृत्यु भएको भन्ने समेत व्यहोराको पोष्ट मार्टस रिपोर्ट । ५. २०४२।५।१३ गते साँझ अ. ६.४५ बजे डुम्रे भन्ज्याङमा मन काजीको घरमा आउँदा भानिज कर्णबहादुरले पाइनापल ल्याएका रहेछन् खाउँ भनेकाले त्यहाँ उठी उठी पियौं, घर जान भनी लाग्दा आडैमा रहेको नरबहादुरको घरमा गई म बाहिर खाटमा बसें, कर्णबहादुर भित्र गई नरबहादुरको श्रीमतीसंग भात मागी खाए र घरतर्फ जान दुबै मामा भानिज मिनबहादुरको घर अगाडि पुग्दा, निजकी कान्छी श्रीमती सेतीले तिमीहरु रक्सी खाई हल्ला गरी हिड्छौं हल्ला नगर भन्ना साथ मिनबहादुर घर भित्रबाट निस्की लौराले भान्जा कर्णबहादुरलाई किन हल्ला गरिस भनी टाउकोमा हान्दा साथ भुईमा लडी हाले, नरबहादुर पनि बाहिर निस्के, मैले गुहार भन्दै अम्बरबहादुरको घरमा पुगेपछि, मिनबहादुरले हातमा लाठी लिई आएका रहेछन् र निज अम्बरबहादुरको बरण्डामा पुग्ना साथ मलाई पनि लाठीले हाने, नरबहादुर पनि पछि आएका थिए । कुटपिटबाट म पनि बेहोस भएछु, ऐ.१४ गते होसमा आउँदा मलाई मिनबहादुरको घरमा सुताएका रहेछन्