निर्णय नं. १०३७० - अदालतको अवहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३७० - अदालतको अवहेलना भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १० फैसला मिति :२०७३/१०/२० ५४६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७३।१०।२० ०७१-MS-०००४ मुद्दाः- अदालतको अवहेलना निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट बस्ने अधिवक्ता रत्‍नकुमारी श्रेष्‍ठ विरूद्ध विपक्षी : कान्तिपुर कम्प्लेक्स, सुविधानगर, काठमाडौं स्थित राष्‍ट्रिय दैनिक कान्तिपुर पब्लिकेसन (प्रा.) लि. का प्रधान सम्पादक सुधिर शर्मासमेत प्रेस तथा सञ्‍चार माध्यमले आफ्नो प्रकाशनद्वारा अदालतप्रति भ्रामक हल्ला फिँजाई अनास्था पैदा गरी काण्ड मच्चाउने (Scandalize) कार्य गर्दछन् भने त्यस प्रकारको कार्यलाई अवहेलनाजन्य कार्य मानिने । न्यायपालिकाको शक्ति भनेको यसप्रतिको नागरिकको आस्था र विश्वास हो तर जब कुनै प्रकारको भ्रामक र कपोलकल्पित हल्ला फिँजाई यसका कामकारबाहीको सम्बन्धमा गलत प्रचार गरी जनआस्था घटाउने र कार्यरत न्यायाधीश तथा कर्मचारीहरूको मानहानि वा बदनामी गर्ने कार्यलाई अदालतको अवहेलना मान्‍नु पर्ने । सञ्‍चार माध्यमले प्रकाशन गरेको कुनै सामग्री वा समाचारले अदालतको अवहेलना भयो वा भएन भन्‍ने सम्बन्धमा निर्क्यौल गर्दा अत्यन्त सतर्कता र संयमता अपनाउनुपर्ने हुन्छ । थोरै मात्र पनि असावधानी भयो भने त्यसले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक जस्ता महत्त्वपूर्ण हक अधिकार कुण्ठित हुन सक्ने । (प्रकरण नं.८) प्रेस स्वतन्त्रता र अदालतको गरिमा दुवै अत्यन्त संवेदनशील प्रकृतिका विषयहरू हुन् । प्रेस स्वतन्त्रताको अभ्यासको नाममा अदालतको मर्यादा, स्वतन्त्रता तथा काम कारबाहीलाई प्रभावित पार्ने कार्य स्वीकार्य हुन सक्दैन भने अदालतको अवहेलनाको नाममा प्रेस स्वतन्त्रतालाई नियन्त्रित गर्ने कार्य पनि लोकतान्त्रिक प्रणालीको लागि हितकर हुन सक्दैन । यी दुवै संस्थाहरू आआफ्नो सीमाभित्र बस्नु पर्ने । अदालतको मर्यादा तथा यसप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने दूषित मनसायले अदालतका काम कारबाहीहरूको आधारहीन रूपमा आलोचना गर्ने, यसको विरूद्ध भ्रामक हल्ला फिँजाई अदालतमा कार्यरत न्यायाधीशको मानमर्दन गर्ने र न्याय सम्पादनको कार्यमा हस्तक्षेप वा अवरोध सिर्जना गर्ने जस्ता काम कारबाही गरिन्छ भने अभिव्यक्ति स्वतन्त्रताको नाममा प्रेसले उन्मुक्ति पाउन सक्दैन र अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने । (प्रकरण नं.१०) न्यायाधीशको पनि अन्य नागरिकको सरह गोपनीयताको हक तथा वैयक्तिक स्वतन्त्रताको हक रहेको हुन्छ । जसलाई पनि सदैव विचार र सम्मान गरिनुपर्छ । न्यायाधीशहरूले गरेका कामकारबाहीहरूमध्ये के कस्ता कामहरू न्यायाधीशको हैसियतमा गरिएका हुन् र के कस्तो कार्यहरू निजको व्यक्तिगत र पारिवारिक जीवनसँग मात्र सम्बन्धित हुन् भन्‍ने सम्बन्धमा पनि सचेततापूर्वक विचार गरिनुपर्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता रत्‍नकुमारी श्रेष्ठ तथा विद्वान्‌ अधिवक्ताहरू श्री शालिकराम आचार्य, श्री कृष्णप्रसाद सुवेदी, श्री दिवसप्रसाद खड्गी र श्री बबिता कार्की विपक्षीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री रामकृष्ण निराला तथा विद्वान्‌ अधिवक्ताहरू श्री टिकाराम भट्टराई, श्री माधवकुमार बस्नेत, श्री अम्बर राउत अवलम्बित नजिर : ने.का.प.२०५५, अंक १०, नि.नं.६६०८, पृ.५६३ ने.का.प.२०६२, अंक