निर्णय नं. १०३८८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३८८ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०७/१४ २८८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।७।१४ ०७५-WO-०२३१ मुद्दाः उत्प्रेषण निवेदक / पक्ष : काभ्रेपलाञ्‍चोक जिल्ला, महेन्द्रज्योति गा.वि.स. वडा नं.४ को हाल बनेपा न.पा. वडा नं. १२ बस्ने श्यामकाजी विष्‍टको छोरा लेनिन विष्‍ट विरूद्ध विपक्षी / प्रत्यर्थी : नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत नागरिक स्वतन्त्र छन्, सार्वभौम, र अधिकार सम्पन्‍न छन् भन्‍नुको अर्थ संविधान र कानूनले स्पष्टतः रोक नलगाएको विषयमा आफ्नो विचार राख्‍न स्वतन्त्र छन् भन्‍नु पनि हुन्छ । यसमा कसैलाई पूर्वजानकारी दिनुपर्ने वा सहमति लिनु नपर्ने । (प्रकरण नं.१२) जबसम्म कानूनद्वारा अख्तियार प्राप्‍त निकायले कुनै कानूनी कारबाही सुरू गरी कानूनको अख्तियारीभित्र रही विदेश यात्रालाई रोक्दैन तबसम्म यस्तो यात्रा रोक्न नमिल्ने । (प्रकरण नं.१३) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान्‌ अधिवक्ता श्री ओमप्रकाश अर्याल विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सञ्‍जिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : राहदानी ऐन, २०२४ अध्यागमन ऐन, २०४९ देवानी कार्यविधि संहिता, २०७४ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छ:- म निवेदक नेपाली नागरिक भई वंशजको नाताले नागरिकता प्राप्‍त गरी नेपाल सरकार परराष्‍ट्र मन्त्रालयको राहदानी विभागबाट राहदानी ऐन, २०२४ बमोजिम ११ सेप्टेम्बर २०१४ मा राहदानी प्राप्‍त गरेको छु । उक्त राहदानीको अवधि १० सेप्टेम्बर २०२४ सम्म रहेको छ । सोबमोजिम राहदानी प्राप्‍त गरी विदेश जान योग्य रहेको छु । उक्त राहदानीको आधारमा रसिया गई ७ दिन बसी १९ औं युवा सम्मेलनको कार्यक्रममा सहभागी भई २० अक्टोबर, २०१७ मा स्वदेश फर्केको हुँ । सोहीबमोजिम Bangkok मा मिति २०७५।५।९ देखि आरम्भ भई मिति २०७५।५।१३ सम्म सञ्‍चालन हुने Asian Resource Good Governance द्वारा आयोजित Youth in Conflict Areas Healing and Peace Building Through Social Engagement विषयको ५ दिने तालिममा सहभागी हुन आयोजक संस्थाबाट दुईतर्फी हवाई टिकट, खाने बस्ने सुविधासहित उक्त देशमा प्रवेश गर्ने राहदानीसमेत उपलब्ध गराई आमन्त्रण गरिएबमोजिम म निवेदक मिति २०७५।५।८ गतेको नेपाल एयरलाइन्सको उडान RA-४०१ बाट बिहानको ९.५० बजे Bangkok प्रस्थान गर्न त्रिभुवन विमानस्थलमा समयमा नै पुगी आवश्यक राहदानी, प्रवेशाज्ञा प्रस्तुत गरी बोर्डिङ पास लिई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेक जाँच गराई मेरो राहदानीमा प्रस्थानको छाप लगाई विमानतर्फ जान लाग्दा प्रत्यर्थी अध्यागमन कार्यालयका कर्मचारीले तपाइँको राहदानी र बोर्डिङ पास दिनुहोस् भनी मागी मैले प्राप्‍त गरेको राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको (Cancelled) को छाप लगाई मैले प्राप्‍त गरेको बोर्डिङ पाससमेत खोसी लिएको हुँदा निवेदकले के कुन कारणबाट मेरो प्रस्थानको छाप रद्द गरिएको र बोर्डिङ पास लिएको भन्दा माथिको आदेशले हो भनी मौखिक रूपबाट भनियो । यसो गर्नुको लिखित कारण खोली जानकारी दिनुहोस् भन्दा प्रत्यर्थी कार्यालयले “थाइल्याण्ड जुन कार्यक्रम