निर्णय नं. १०३९१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९१ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/०९/२७ ४९२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।९।२७ ०७६-WH-०२०५ मुद्दाः बन्दीप्रत्यक्षीकरण रिट निवेदक : ललितपुर जिल्ला महालक्ष्मी -२ बस्ने कमलबहादुर सुवेदीको छोरा हरिकृष्ण सुवेदी विरूद्ध विपक्षी : हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ५ माइतीमा बस्ने ज्ञानबहादुरको छोरी श्रीजया कार्कीसमेत प्रत्येक मुद्दाको कारबाही उक्त मुद्दाका परिस्थितिहरूको मूल्याङ्कन र विश्लेषण गरी सम्बन्धित बालबालिकाको हितलाई केन्द्रमा राखी गरिनु पर्ने । सामान्यतया अदालत वा न्यायाधीशले बालबालिकाको सर्वोत्तम हित हेर्दा बच्चाको विशिष्ठ परिस्थिति, उसको व्यक्तिगत अवस्था र परिवेशलाई मूल्याङ्कन गर्नुपर्दछ । यस्तो निर्णयमा पुग्दा बालबालिकाको मनोवैज्ञानिक अवस्थासहितको प्रतिवेदनसमेतलाई विचार गरी निर्णयमा पुग्नु महत्त्वपूर्ण आधार हुन सक्दछ । त्यस्तै यस्तो निर्णयमा पुग्दा बुबा, आमा, हजुरबुबा, हजुरआमा, कुनै पनि नातेदार वा अन्य संघ संस्थाको परिस्थिति वा अवस्था होइन निज बालकको परिस्थिति र इच्छासहितको वस्तुगत दृष्टिकोण महत्त्वपूर्ण हुने । (प्रकरण नं.७) बाबु वा आमालाई प्रत्यक्ष भेट गर्न नदिने भन्ने विषयले सम्बन्धित बालबालिकालाई गम्भीर खतरा सिर्जना गर्न सक्छ l बाबु वा आमाको आर्थिक अवस्था, शारीरिक अशक्तता वा अन्य यस्ता सामान्य कारणहरू बालबालिकाको संरक्षण वा जिम्मा हटाउने आधार बन्न सक्दैनन् । यदि सम्बन्धित बालबालिका परित्याग गरिएको हो भने त्यसको आधार र कारणसहितको मूल्याङ्कन हुनु पर्ने । एउटा निर्णयकर्ता सम्बन्धित बालकसँग बस्ने मात्र होइन, छुट्टिएका बाबु आमाको बच्चासँगको व्यक्तिगत र भावनात्मक सम्बन्ध के कति महत्त्वपूर्ण छ भन्ने आधारमा जोसुकैसँग बसे पनि एक अर्काले भेट्ने र सामिप्यता प्राप्त गर्ने आधार सिर्जना गरिदिनु पर्दछ भन्ने मान्यताबाट विचलित हुनु हुँदैन । त्यस्तो सामिप्यताभित्र पारिवारिक वातावरण मात्र होइन निज नाबालकका दुवैतर्फका नजिकका नातेदारहरूसँगको सामिप्यता पनि अन्तर्निहित हुने । (प्रकरण नं.८) बालिकाका बाबुले आफूले राख्न पाउने भन्ने दाबी पनि नगरेको र हजुरबुबा हजुरआमाले दाबी गरेको प्रसङ्गमा स्वाभाविक रूपमा आमाले अर्को विवाह नगरेको अवस्थामा निजले नै राख्न पाउनुपर्ने भन्ने प्रसङ्ग तार्किक देखिने l (प्रकरण नं.१९) एक नवजात सन्तानलाई संसारसँग साक्षात्कार गराई स्तनपानको माध्यमद्वारा आहारा र आफ्नै आँचलमा साहारा दिई ममतापूर्वक हुर्काउने जननीको यो प्राकृतिक देनलाई उनको प्रजनन अधिकारको सामिप्यतासँग समेत जोडेर हेरिनुपर्ने l बालिका आफ्नो आमाको साथमा रहनु स्वभावैले प्राकृतिक र प्राथमिक विषय हो l विकल्प रहेसम्म दुध काख गर्ने उमेरको नाबालिगलाई आफ्नो आमासँग जबरजस्ती छुटाउन खोज्नु विवेकसङ्गतसमेत हुन सक्तैन l अन्यथा प्रमाणित नभएको र अपवादबाहेकको अवस्थामा एक नाबालिग सन्तान आफ्नो जीवनको प्राथमिक संरक्षक आमाको साथमा रहेको अवस्थामा त्यस्तो नाबालिगलाई आमाले बन्दी बनाइराखेको भन्नु मनासिब नदेखिने l (प्रकरण नं.२१) नाबालिग छोरीको संरक्षकत्वको जिम्मा बालिकाकै आमाको हुने भनी सुनाएको निर्णयअनुसार नै विपक्षीले छोरीलाई आफ्नो जिम्मामा लिई साथमा राखेको हुँदा सो कार्यबाट आमाले छोरीलाई गैरकानूनीरूपमा बन्दी बनाएको भनी मान्न नमिल्ने l (प्रकरण नं.२२)