निर्णय नं. १०३९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३९८ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/०६/०१ ५०८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।६।१ ०७१-WO-०८६६ मुद्दाः उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३१ कमलादी स्थित हिमालयन बैंक लिमिटेडका तर्फबाट अधिकारप्राप्त कम्पनी सचिव विपिन हाडा विरूद्ध विपक्षी : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंसमेत बैंक ग्यारेन्टीसम्बन्धी करारको स्रोत वा सन्दर्भको रूपमा मूल करार रहन सक्तछ तर ग्यारेन्टी पत्र जारी गर्ने बैंकले हितग्राही पक्ष (Beneficiary) को नाममा बैंक ग्यारेन्टी जारी गरिसकेपछि यसले स्वतन्त्र र भिन्न करारको रूप धारण गर्दछ । मूल करारका पक्षहरूबिचको विवादसँग उक्त बैंक ग्यारेन्टीसम्बन्धी करारअन्तर्गत बैंक ग्यारेन्टीकर्ता बैंकले पूरा गर्नुपर्ने दायित्वमा कुनै असर नगर्ने । (प्रकरण नं.७) ग्यारेन्टी वा काउन्टर ग्यारेन्टीमा परस्पर उल्लेख गरे पनि एक अर्काको सर्तबाट स्वतन्त्र र स्वायत्त हुन्छन्, आ-आफूले जारी गरेको जमानत पत्रका सर्तका अधीनमा रहेर दायित्व पूरा गर्नुपर्ने । (प्रकरण नं.८) विदेशी ठेकेदार कम्पनीले आफ्नो देशको अदालतबाट भुक्तानी रोक्का गराएको कारणबाट निवेदक बैंक हितग्राहीप्रतिको आफ्नो दायित्व पालनाबाट उन्मुक्त हुन नसक्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शुशिल पन्त र श्री कोमलप्रकाश घिमिरे विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गान्धी पण्डित र विद्वान् अधिवक्ताहरू श्री रेशमराज रेग्मी, श्री सुमन आचार्य, श्री रामशरण पोखरेल र श्री खडानन्द कडेल अवलम्बित नजिर : ने.का.प.२०६८, अंक ४, नि.नं.८६०५ ने.का.प.२०६४, अंक ७, नि.नं.७८६७ सम्बद्ध कानून : नेपालको संविधान करार ऐन, २०५६ आदेश न्या.हरिकृष्ण कार्की : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- १९ फेब्रुअरी, २००९ मा मेलम्ची खानेपानी आपूर्ति विकास समिति तथा चाइना रेल्वेबिच मेलम्ची खोलाबाट काठमाडौं उपत्यकाको लागि पानी आपूर्ति गर्नको लागि Head Works / Diversion Tunne। को निर्माण १५९६ दिनभित्र गर्नको लागि रू.४ अर्ब ६० करोडमा ठेक्का सम्झौता भएको रहेछ । ९ फेब्रुअरी, २००९ मा चाइना कन्स्ट्क्सन बैंक, हेनान शाखाबाट चाइना रेल्वेको अनुरोधमा उक्त कम्पनीले मेलम्ची खानेपानी विकास समितिबाट हेड वर्क्स तथा डाइभर्सन टनेल निर्माण गर्ने कार्यको ठेक्का पाएको र उक्त ठेक्काको सर्तबमोजिम कम्पनीले कार्य सम्पादन बैंक जमानत दिनुपर्ने हुँदा सोअनुरूप कार्य सम्पादन जमानत (Performance Bond Guarantee) जारी गर्नका लागि रे.नं. ४१००३०६२०००१२४० बाट USD ६६,५५,०००.०० को काउन्टर ग्यारेन्टी जारी गरी निवेदक बैंकलाई कार्य सम्पादन जमानत (Performance Bond Guarantee) जारी गर्न अनुरोध गरिएको थियो । ११ फेब्रुअरी २००९ मा उक्त अनुरोधबमोजिम निवेदकले विपक्षी समितिको पक्षमा रे.नं. HB।CG03650005 बाट USD ६६,२५,०१०.०० को कार्य सम्पादन जमानत दिएको थियो । उक्त जमानत चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीको आधारमा र UNIFORM RU।ES FOR DEMAND GUARANTEE, ICC PUB।ICATION NO. 458 को अधीनमा रहने सर्तमा जारी गरिएको थियो