निर्णय नं. १०४२१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२१ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०६/२९ २७३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।६।२९ ०६८-WO-०२१२ मुद्दा : उत्प्रेषण निवेदक : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडको तर्फबाट र आफ्नो हकमा समेत ऐ. का प्रबन्ध सञ्चालक सौमिन्द्र भट्टाचार्य विरूद्ध विपक्षी : श्रम अदालत, काठमाडौं, अनामनगरसमेत पारिश्रमिक तथा अन्य सुविधा सधै नेपाल भित्रै भुक्तानी भएको र विवादित रकम मात्र विदेशी भूमिमा भुक्तानी गर्नुपर्ने कुनै कारण नदेखिएको र निवेदकले विपक्षीलाई रकम भुक्तानी गरेको भए नेपालमा पारिश्रमिक आय कट्टी हुनुपर्नेमा सोसमेत भएको नदेखिएको अवस्थामा नेपाली कम्पनीले नेपालभित्रै काम गरेको नेपाली कामदार कर्मचारीलाई नेपालभित्रै भुक्तानी नदिई विदेशमा तेस्रो कम्पनीमार्फत भुक्तानी गरेको भनी लिएको दाबीलाई विश्वास गर्नुपर्ने कुनै आधार नदेखिँदा यस्तो दाबीलाई कानूनसम्मत मान्न नसकिने । (प्रकरण नं.६) लेनदेन र करारीय प्रकृतिको विषयमा प्रवेश गरी के कति रकम भुक्तानी भयो वा भएन आदि विषयमा विश्लेषण र विवेचना गरी निर्णय गर्ने कुरा अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत रिट क्षेत्राधिकारभित्र पर्ने विषय नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल र विद्वान् अधिवक्ता श्री महेशकुमार थापा विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री माधवप्रसाद बास्कोटा, श्री सुरेन्द्र महतो तथा विद्वान् अधिवक्ता श्री सुरज अधिकारी अवलम्बित नजिर : ने.का.प.२०५७, अंक ३, नि.नं.६८७७ सम्बद्ध कानून : श्रम ऐन, २०४८ आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- निवेदन बेहोरा निवेदक कम्पनी प्रचलित नेपाल कानूनअन्तर्गत दर्ता भई विदेशी लगानीमा सञ्चालित छ । यसले बालाजुमा उद्योग स्थापना गरी कोक, फेन्टा र स्प्राइट जस्ता चिसो पेय पदार्थको उत्पादन गरी बिक्री गर्दै आएको छ । निवेदक कम्पनीको जम्मा सेयर स्वामित्वमध्ये ७६.१६ प्रतिशत सेयर युनाइटेड अरब इमिरेट्सको दुबईस्थित Coco-Co।a Sabco (Asia) ।imited, जसलाई यसपछि CCS Asia भनी सम्बोधन गरिएको छ, ले लिएको छ । बाँकी लगानीकर्ताहरूमा नेपाली उद्योगपति र सर्वसाधारण रहेका छन् । CCS Asia ले बहुसङ्ख्यक सेयर धारण गरेकोले कम्पनीको दैनिक व्यवस्थापन तथा आर्थिक व्यवस्थापन पनि सोही कम्पनीको निर्देशन तथा नियन्त्रणमा रहेको छ । अर्को निवेदक म सौमिन्द्र भट्टाचार्य CCS Asia कै तर्फबाट निवेदक कम्पनीको प्रबन्ध सञ्चालकको हैसियतमा काम गरिआएको छु । CCS Asia को थाइलेन्डको बैंककमा पनि कार्यालय रहेको थियो र सोही कार्यालयमार्फत त्यसले नेपाललगायतका दक्षिण एसियाका देशहरूको व्यावसायिक कारोबार हेर्ने गर्दथ्यो । विपक्षी दिनेशप्रसाद सिंहले निवेदक कम्पनीको नेशनल सेल्स मेनेजरको रूपमा कार्य गर्दै आएका थिए । सेवा अवधिको पछिल्लो समयमा निजले व्यवस्थापनलाई असहयोग गर्न थालेको र अनाहकमा मुद्दा मामिला गर्न थालेकोले निजको कम्पनी व्यवस्थापनसँग असमझदारी बढ्दै गएको कारण निजले बहुसङ्ख्यक सेयर लिई कम्पनीलाई निर्देशन तथा नियन्त्रण गर्ने माउ कम्पनी (Parent / ho।din