निर्णय नं. १०४२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४२३ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०९/१५ ४०९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।९।१५ ०७४-WO-०५२३ मुद्दाः उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१ हात्तिसारस्थित मुख्य कार्यालय भई नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका वडा नं.१० मा कारखाना रहेको गोरखा ब्रुअरी प्रा.लि. का तर्फबाट ऐ. का अख्तियारप्राप्‍त उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत विना आधार र कारण करसम्बन्धी विवादहरूमा सोझै असाधारण क्षेत्रमार्फत आउन पाउने बाटो खुलाइदिने हो भने करसम्बन्धी कानूनी व्यवस्थाहरू र राजस्व न्यायाधिकरण ऐन, २०३१ समेत अर्थहिन भई निष्प्रयोजन हुन जाने । (प्रकरण नं.७) कर कार्यालयले प्रारम्भिक कर निर्धारण आदेशमा चित्त नबुझेमा त्यस्तो आदेशउपर अन्त:शुल्क ऐन, २०५८ को दफा १९(१) बमोजिम आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिनसक्ने र प्रशासकीय पुनरावलोकनको लागि दिएको निवेदनमा पनि आन्तरिक राजस्व विभागका महानिर्देशकले गरेको आदेशमा चित्त नबुझे अन्त:शुल्क ऐन, २०५८ को दफा १९(१), (६) बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न सकिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री महादेव यादव, श्री चण्डेश्‍वर श्रेष्‍ठ, विद्वान्‌ अधिवक्ताहरू श्री परशुराम कोइराला, श्री महेश थापा, श्री ललितबहादुर बस्नेत, श्री खम्बबहादुर खाती विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : ने.का.प.२०५०(ग), अङ्क ९, नि.नं. ४७८६ ने.का.प.२०४९(क), अङ्क ३, नि.नं. ४४९६ सम्बद्ध कानून : अन्त:शुल्क ऐन, २०५८ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छ:- निवेदक कम्पनी उद्योग विगत २०४३ सालमा विधिवत् स्थापना भई नेपालमा काल्सवर्ग एवम् टुबोर्ग ब्राण्डका वियरसमेत उत्पादन गर्दै आएको छ भने यस उद्योगले पछिल्लो आर्थिक वर्ष २०६४/६५ देखि आ.व.२०७३/७४ सम्म लगभग १० वर्षको अवधिमा देशको राजस्व ढुकुटीमा मूल्य अभिवृद्धि करबापत रू.११,५४,५०,००,०००।- (अक्षरूपी एघार अरब चौवन्‍न करोड पचास लाख मात्र), अन्तःशुल्कबापत रू.३३,१०,८०,००,०००।- (अक्षरूपी तेत्तीस अरब दश करोड असी लाख मात्र) र आयकरबापत रू.६,९८,१०,००,००० (अक्षरूपी छ अरब अन्ठानब्बे करोड दश लाख मात्र) गरी जम्मा रू.५१,६३,४०,००,००० (अक्षरूपी एकाउन्‍न अरब त्रिसठ्ठी करोड चालीस लाख मात्र) रकमको योगदान गरेको छ । निवेदक उद्योगले आफ्नो उत्पादन बिक्री बितरण गर्ने क्रममा वियरको अन्तःशुल्क असुल्ने प्रयोजनको लागि वियरको उत्पादनको दुरूस्त परिमाणको यकिन गर्ने प्रयोजनका लागि प्रत्यर्थीमध्येको आन्तरिक राजस्व कार्यालय, भरतपुरले निवेदकको उद्योग परिसरमा आ.व. २०६६/६७ मा Flow Meter नामक यन्त्र जडान गरी सोही यन्त्रकै आधारमा देखिने परिमाणकै आधारमा वियर निष्काशनको परिमाणको यकिन गर्ने गरिएकोमा विवाद थिएन । Flow Meter बिग्रिएपश्चात् कम्पनीले उक्त Flow Meter बनाउन र सो नबनेसम्म वैकल्पिक उपायसमेतका लागि निवेदन दिएको मा कुनै विवाद छैन । उक्त Flow Meter बन