निर्णय नं. १०४३१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४३१ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०२/०१ ३९२२ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु. प्रधानन्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।२।१ ०७४-CR-१६५८ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम “ट” को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : झापा जिल्ला शरणामति गा.वि.स. वडा नं. ८ बस्ने परिवर्तित नाम “ई” भौतिक सबुद प्रमाणसँग कुनै छेडछाड (Tamper) गरिएको छैन भने यसले कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न विश्‍वसनीय आधार दिन्छ । जुन मानव साक्षीको भन्दा बढी भरपर्दो हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा सङ्कलन भएको भौतिक सबुद प्रमाणसँग कुनै किसिमको छेडछाड भएको मिसिल संलग्न कुनै कागज प्रमाणबाट नदेखिएको अवस्थामा त्यस्ता प्रमाणलाई नजरअन्दाज गर्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री मनोज के.सी. झापा जिल्ला अदालत उच्च अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेश पोखरेल माननीय न्यायाधीश श्री रमेशबहादुर थापा उच्च अदालत, विराटनगर इलाम इजलास फैसला का.मु.प्र.न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:- पीडित “ट–१” उपनाम गरेकी बालिका मेरो भान्जी नाताकी हुन् । मेरो दिदी “ट–२” उपनाम र भान्जाहरू वैदेशिक रोजगारको लागि विदेशमा छन् । घरमा पीडित भान्जी र प्रतिवादी भिनाजु मात्रै बस्ने गर्दथे । मिति २०७२।०१।०२ को दिन अं. ११:०० बजेको समयमा म आफ्नै घरमा भएको अवस्थामा मेरो दिदी “ट–२” उपनामले मलाई फोन गरी तेरो भिनाजुले भान्जीलाई आफ्नै घरमा बलात्कार गरे अरे, मलाई गाउँबाट फोन आएको थियो । के भएको हो तुरून्त घरमा गएर बुझ भनेकी हुँदा म तत्कालै निज दिदीको घर जाँदा भिनाजु घरमा थिएनन् । पीडित भान्जीलाई रोइरहेको अवस्थामा देखी के भएको हो भनी सोधपुछ गर्दा निज भान्जीले मलाई बुबाले राति सँगै सुतेको अवस्थामा मेरो शरीरको माथिल्लो भागको कपडाहरू खोली दिई मेरो स्तन समाती मुसार्ने, मलाई छाडिदिनु भन्दा केही हुँदैन भनी रोई कराई भन्दासमेत टि.भी. को आवाज ठुलो बनाई मलाई विभिन्न डरत्रास देखाई मेरो मुख थुनी दिई शरीरको विभिन्न भागमा टोकी मलाई जबरजस्ती करणी गर्दै आउनु भएको र मिति २०७२।१।१ को रातिसमेत बुबाले मलाई २/३ पटक करणी गरेको हुँदा सहन नसकी भाउजूलाई सुनाएपश्‍चात् भाउजूले विदेशमा रहनु भएको आमालाई फोन सम्पर्क गरी सुनाई दिनुभएको भनी बताएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । जिल्ला झापा शरणामती गा.वि.स. वडा नं. ८ मा रहेको प्रतिवादी तथा पीडितको ३ कोठे घरको पूर्वबाट दोस्रो कोठाको खाटमा प्रतिवादी “ई” उपनामले आफ्नै छोरी “ट–१” उपनामलाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । प्रतिवादी “ई” उपनाम गरेको मानिस मेरो बुबा हुन् । विगत केही महिनादेखि घरमा म र बुबा मात्रै बस्दै आएका थियौं । मेरो आमा, जेठो दाजु र कान्छो दाजु रोजगारको लागि विदेशमा हुनुहुन्छ । मेरो भाउजूलाई घरमा रहँदा बस्दा बुबाले गालीगलौज गर्ने, हातपात