निर्णय नं. १०४४२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४२ - अंश चलन भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/२१ ४६११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।९।२१ ०७०-CI-१२९१ मुद्दाः अंश चलन निवेदक / वादी : जिल्ला भक्तपुर, छालिङ गाउँ विकास समिति वडा नं. ५ बस्ने शान्ति चौधरी (श्रेष्ठ) विरूद्ध विपक्षी / प्रतिवादी : मोरङ जिल्ला मृगोलिया स्थायी ठेगाना भई हाल जिल्ला भक्तपुर, छालिङ गाउँ विकास समिति वडा नं. ५ खरिपाटी बस्ने चुडाबहादुर श्रेष्ठसमेत विवाह दर्ता विवाहलाई पुष्टि गर्ने एक विश्वसनीय तथा आधिकारिक प्रमाण हो तर विवाह दर्ता नभएको अवस्थामा विवाह नै नभएको भनी निष्कर्षमा पुग्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.६) राहदानीमा आफ्नो नामसहित पतिको थर नराखेको र निकटतम व्यक्तिको महलमा पतिको नाम नराखेको भन्ने नै आधारमा श्रीमती होइन भनी अर्थबोध गर्नु उचित नहुने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल, विद्वान् वैतनिक अधिवक्ताद्वय श्री रजिता थापा तथा श्री इन्दिरा सिलवाल प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू सर्व श्री कृष्णप्रसाद कटुवाल, श्री प्रभाकर खनाल, श्री चेतनाथ घिमिरे, श्री रिता मैनाली, श्री अर्जुन खनाल, श्री सीता शरण मण्डल अवलम्बित नजिर : ने.का.प.२०४३, अंक ५, नि.नं.२७३५ ने.का.प.२०५५, अंक ८, नि.नं.६५८८ ने.का.प.२०७४, अंक ६, नि.नं.९८३३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चण्डीराज ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी चुडाबहादुर श्रेष्ठ मेरो पति हुनुहुन्छ । उहाँसँग २०५० साल भाइटीकाको दिन विवाह भई पति पत्नीको सम्बन्ध स्थापित भएको हो । निजसँग विवाह हुनुभन्दा अगाडि मेरो स्थायी परिवार नियोजन भइसकेकोमा विपक्षी पतिको जेठी श्रीमती चन्द्रमाया श्रेष्ठको तर्फबाट छोरा सविन श्रेष्ठको जायजन्म भएकाले निज सविनलाई आफ्नो छोरा मानी माया ममता दिने सहमतिबाट विपक्षी पतिसँग विवाह भएको हो । हामीबिच कुनै झै-झगडा मनमुटाव थिएन । जेठी श्रीमती परलोक भएको १ वर्ष नबित्दै विपक्षीले चेतना लोकसम श्रेष्ठलाई मेरो सौता बनाई विवाह गरी भित्र्याउनु भएको मिति २०६०।११।२३ मात्र थाहा पाएको र सोपश्चात् मलाई खान लाउनसमेत नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी ४ भागको १ भाग अंश पाउँ भन्ने फिराद दाबी । मिति २०५० सालको भाइटिकाको दिन विवाह गरेको भन्ने कथन बिल्कुल तथ्यहीन हो । मेरी जेठी श्रीमती चन्द्रमाया श्रेष्ठ जीवित छँदै म एक प्रहरी अधिकृतको हैसियतले कसैसँग दोस्रो विवाह गर्न वा अर्की श्रीमती ल्याउन प्रचलित नेपाल कानूनअनुसार स्वतः गैरकानूनी कार्य हुने हुँदा निज शान्ति चौधरीसँग विवाह गरेको छैन । आफ्नो श्रीमान् श्यामशंकर चौधरीसँग विधिवत् रूपमा सम्बन्ध विच्छेद पनि नभएको र सुरेन्द्रराज श्रेष्ठसँग अंश तथा बहुविवाह मुद्दा दायर गरी विचाराधीन रहेकै अवस्थामा व