निर्णय नं. १०४४७ - हालैदेखिको बकसपत्र लिखत बदरसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४७ - हालैदेखिको बकसपत्र लिखत बदरसमेत भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/११/२९ ६७४१ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्र. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।११।२९ मुद्दा: हालैदेखिको बकसपत्र लिखत बदरसमेत ०७४-NF-०००३ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.३२ हाल परिवर्तित वडा.नं.२९ बस्ने दिपकराजा गोर्खाली श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : कृष्णबहादुरको नाति, दिपकराजाको छोरा वर्ष १६ को अङ्कित गोर्खाली श्रेष्ठसमेत ०७४-NF-०००४ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.३२ हाल परिवर्तित वडा.नं.२९ बस्ने श्यामा देवी गोर्खाली श्रेष्ठ (जोशी) विरूद्ध प्रत्यर्थी / वादी : कृष्णबहादुरको नाति, दिपकराजाको छोरा वर्ष १६ को अङ्कित गोर्खाली श्रेष्ठसमेत घरमूलीको भूमिकामा रहेको पिता /पतिको आफ्नो परिवारप्रति सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व रहनुका साथै सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व वहन गर्ने क्रममा निजको संरक्षकत्वमा रहेका व्यक्तिप्रति साम्पत्तिक हकको संरक्षण गर्नुसमेत निज अभिभावकको मुख्य दायित्व हुन जाने हुन्छ । मूल व्यक्तिले आर्जन गरेको सम्पत्ति निजका पत्नी, छोरा, छोरीका हकमा पैतृक सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं.५) आफूले अंश दिनु पर्ने श्रीमती, छोरा छोरीको हकमा बाबु वा लोग्नेको सम्पत्ति पैतृक हुने भएपछि आफूखुस गर्न नपाउने । (प्रकरण नं.६) घर व्यवहार चलाउन ऋण लिई सोबापत बकसपत्र गरिदिएको भनेर भन्नु मात्रै पर्याप्त हुँदैन । ऋण लिएको पैसा घर व्यवहारमा लगाएको देखिनु पनि पर्छ । घर व्यवहार चलाउने भन्ने कुराले त्यस्तो व्यवहारको फाइदा, प्रयोग वा प्रतिफल सगोलका सबै अंशियारले प्राप्त गरेको वा भोग गरेको देखिनु पर्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री हरि शंकर निरौला, श्री शम्भु थापा र श्री भैरव राज पन्त अवलम्बित नजिर : ने.का.प.२०६४, अङ्क २, नि.नं.७८१४ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री किरण कुमार पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डा. कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन यस अदालतबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपककुमार कार्की मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला न्या.प्रकाशकुमार ढुङ्गाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षी प्रतिवादी दिपकराजा गोर्खाली श्रेष्ठ र म फिरादी अमिना गोर्खाली श्रेष्ठबिच हिन्दू परम्पराअनुसार मिति २०५५।११।२० मा विवाह भई मिति २०५७।०५।०५ मा जेठो छोरा अङ्कित र मिति २०५९।०४।१२ मा कान्छो छोरा आदिप गोर्खाली श्रेष्ठको जायजन्म भएको हो । विपक्षीले हामीलाई खान लगाउन नदिई कुटपिट गरी घरबाट निकाला गर्नुभएकाले विपक्षीउपर आजै अंश चलन तथा मानाचामल मुद्दा दर्ता गरेका छौं । विपक्षी प्रतिवादीहरूको मिलेमतोमा हामी अंशियारहरूलाई अंश भागबाट वञ्चित गर्ने मनसायले हाम्रो समान अंश हक लाग्ने का