निर्णय नं. १०४४८ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४४८ - मोही नामसारी भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०७/२८ २१३७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।७।२८ ०७१-NF-०००१ मुद्दाः- मोही नामसारी पुनरावेदक / वादी : आसामाया श्रेष्ठको मु.स. गर्ने सुकु श्रेष्ठको छोरा का.जि. गोकर्ण गा.वि.स. वडा नं. ४ बस्ने नारायण श्रेष्ठ विरूद्ध विपक्षी / प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंका तर्फबाट ऐ.का निमित्त प्रशासक हेमराज सुवेदीसमेत पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले गुठीको प्रयोजन लोप गरी तथ्य लुकाई निजी बनाउने, त्यस्ता गुठियारले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्‍याउने जस्ता काम गर्न छुट दिन नसकिने । एकातिर गुठी नै लोप गर्ने कार्यबाट धर्मलोप हुन जान्छ भने अर्कोतर्फ पुर्खाले नै आफ्नो हक छाडी धार्मिक वा सामाजिक कार्यको लागि समर्पण गरिसकेको जग्गा जमिन आदि पछिल्लो पुस्ताले लोभ लालचमा फसी दाबी गरी आफूखुसी गर्ने कार्यबाट गुठीको लागि आफ्नो हक छाडी जग्गा दान गर्ने पुर्खाको उद्देश्य नै समाप्त हुन जाने । गुठीको प्रयोजनार्थ राखिएको सम्पत्ति अंश, अपुताली, दानबकस आदिबाट गुठीको उद्देश्यविपरीत हुने वा अस्तित्व समाप्त हुने गरी स्वामित्व हस्तान्तरण हुने प्रकृतिको नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : ने.का.प.२०४९, अङ्क ८, नि.नं.४६०१ ने.का.प.२०५४, अङ्क ३, नि.नं.६३४१ ने.का.प.२०७२, अङ्क १२, नि.नं.९५०४ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ गुठी संस्थान ऐन, २०३३ सुरू निर्णय गर्नेः श्री देवराज ढकाल भू.सु.का. काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल मा. न्यायाधीश श्री भरतराज उप्रेती फैसला न्या.अनिलकुमार सिन्हा : यस अदालतको संयुक्त इजलासबाट मिति २०६८।२।२० मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम निवेदन परी यस अदालतबाट निस्सा प्रदान भएको र नियमानुसार निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- १९९७ सालको जेठमा श्री ५ को सरकार गुठी लगत जाँच अड्डाबाट खडा गरेको लगत किताबमा मौजे गोकर्ण शंखडोल खेत ४ र पाखो २III जग्गाको मोही पिता श्रीमान् श्रेष्ठ भनी कायम भएको जग्गा हाल काठमाडौं जिल्ला, जोरपाटी गाउँ विकास समिति वडा नं. ९(घ) कि.नं. ४८ को क्षेत्रफल ७-२-०-० र ऐ. कि.नं. ४९ को क्षेत्रफल १२-११-०-० कायम भएको छ । उल्लिखित जग्गा पिता श्रीमान् श्रेष्ठ जीवित रहेसम्म निजले र निज २०२० सालमा आफ्नो कालगतिले परलोक भएपछि दाजु सन्तमान श्रेष्ठ र म निवेदिकाले संयुक्त रूपमा जोतभोग गरी नियमानुसार बुझाउनु पर्ने कुतबाली गुठीका पुजारी मदन भट्ट र गोपाल भट्टलाई बुझाई आएका थियौं । मेरा दाजु सन्तमान श्रेष्ठको २०२६ सालमा परलोक भएपश्चात् आजसम्म म निवेदिकाले नै घरबास गरी भोग चलन गरी आएकी छु । उक्त जग्गा पिता पुर्खाका पालादेखि हाम्रो जोत भोगमा रहेको कुरा १९९७ सालको लगत, २००९ साल श्रावण