निर्णय नं. १०४६० - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४६० - अपुताली हक कायम भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०३/३१ ४१७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।३।३१ ०७०-CI-०२४२ मुद्दाः- अपुताली हक कायम पुनरावेदक / वादी : झापा जिल्ला, शरणामती गा.वि.स. वडा नं.२ बस्ने मरचिन यादवकी पत्नी धुलो यादव विरूद्ध विपक्षी / प्रतिवादी : झापा जिल्ला, शरणामती गा.वि.स. वडा नं.२ बस्ने मन्नुलालको छोरा सूर्यप्रसाद यादव कुनै पनि सम्पत्ति स्वामीविहीन (res nullius) रहन सक्दैन । सो सम्पत्तिको स्वामी कानूनबमोजिमको हकवाला वा त्यस्तो कुनै हकवाला नभएमा राज्यको हुन जान्छ । सम्पत्तिको स्वामीको मृत्यु भएका बखत उक्त सम्पत्तिको स्वामी को हुने भन्ने विषय प्रचलित अपुतालीसम्बन्धी कानूनले निर्धारण गर्ने विषय भएकोले अपुतालीको हकको सम्बन्धमा मृत्यु हुँदाको बखत कायम रहेको कानूनी व्यवस्था नै आकर्षित हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवाल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रेवतप्रसाद खरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री गिरिराज गौतम झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई पुनरावेदन अदालत इलाम फैसला न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत इलामको मिति २०६९।३।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदक वादीको निवेदन परी यस अदालतको मिति २०७०।४।२९ को आदेशले मुद्दा दोहोर्याई हेर्न अनुमति प्राप्त भई यस अदालतमा पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- पति मरचिन यादवको दुई पत्नीमा जेठी पत्नी गोदो यादव र कान्छी पत्नी फिरादी हुँ । पति मरचिन यादवको मिति २०५९।९।२६ मा र सौता गोदो यादवको २०६३।७।१९ गते मृत्यु भयो । पति तथा सौताको पालन पोषण औषधी उपचार गरी मृत्युपछि दशकर्म गरी आएकी थिएँ । पति मरचिन यादवको नाममा दर्ता रहेको जिल्ला झापा शरणामती गा.वि.स. वडा नं. ५ को कि. नं. २१७, ३१६, ३२१, ३२५, ३२८, ३३५, ३३७, ३३८, ३३९ जग्गा कित्ता फोर भई कायमी कि.नं.१३४६, १३५३, १३५५, ३४१, ३३५, ३२८, १३५१, १३४९ का जग्गाहरू पैतृक सम्पत्ति रहेको, सोही कित्ताहरू मृतक सौता गोदो यादवको नाममा बन्डा भएपश्चात् म फिरादीले भोग गरी आएकी थिएँ । हालसम्म भोग गरी आएकी छु । सौता गोदो यादवको मृत्यु भएपछि नजिकको हकवालाको हैसियतले उक्त जग्गा नामसारीको लागि मालपोत कार्यालय झापामा कारबाही चलाएपछि विपक्षीले गोदो यादव फुपू हो, फुपाजुको मृत्युपछि स्याहार सम्भार गरेकोले मेरो हक लाग्ने हुँदा नामसारी गरिपाउँ भनी निवेदन गर्दा प्रमाण पेस गर्न नसकेपछि मालपोत कार्यालय झापाले म फिरादीको नाममा नामसारी हुने ठहर फैसला गरेको थियो । सो निर्णयउपर विपक्षीले पुनरावेदन अदालत इलाममा पुनरावेदन गर्दा हक बेहकमा निर्णय सुनाई दिएकोले हक बेहकमा नालिस गरेपश्चात् मेलमिलाप केन्द्रमा वार्ता भएकोमा मिलापत्र नहुने भएपछि फिराद गर्न आएको छु । उल्लिखित कित्ताहरूको जम्मा ज.वि. ३-१७-९ जग्गामा अपुताली हक कायम गरी चलनसमेत पाउँ भन्नेसमेत बेहोराको वा