निर्णय नं. १०४६२ - डाँक लिलाम पुर्जी दर्तासमेत बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४६२ - डाँक लिलाम पुर्जी दर्तासमेत बदर गरिपाउँ भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०८/०३ २९५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री डम्‍बरबहादुर शाही फैसला मिति : २०७६।८।३ ०७३-CI-०११७ मुद्दा : डाँक लिलाम पुर्जी दर्तासमेत बदर गरिपाउँ पुनरावेदक / वादी : धनुषा जिल्ला, विन्धी गा.वि.स. वडा नं. ५ बस्ने आलोककुमार चौधरीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धनुषा जिल्ला, विन्धी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय जलेश्‍वरमा रहेका परशुराम चौधरीसमेत साबिक मुलुकी ऐन, दण्ड सजायको महलको २६ नं. मा भएको व्यवस्थामा उल्लिखित "दुनियाँको बिगो जायजात गर्दा" भन्‍ने शब्दले महत्त्व राख्दछ । ऋण लिँदाको अवस्था नभई बिगोबापत जायजात गर्दा अन्य अंशियारको उमेर के रहेछ भनी हेर्नु पर्ने उक्त २६नं.को मनसाय रहेको देखिने । (प्रकरण नं.३) सम्पत्ति जायजात सम्बन्धमा भएको उक्त स्पष्‍ट कानूनी व्यवस्थाको अर्को अर्थ निस्कने गरी तथा अदालतबाट अन्तिम भई बसेको मुद्दाको कार्यान्वयनमा प्रतिकूल प्रभाव पर्ने गरी अन्य कानूनी व्यवस्थाको सहारा एवम् आड लिएर छिद्रान्वेषी प्रकृतिबाट व्याख्या गर्नु विधायिकाको मनसायविपरीत हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी. अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ६, नि.नं.८६३२ सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कैलास के.सी. धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी माननीय न्यायाधीश श्री प्रेमराज ढकाल पुनरावेदन अदालत जनकपुर फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छः तथ्य खण्ड प्रतिवादीमध्येका परशुराम चौधरी हाम्रो पिता हुन् । हामी वादीमध्येका नितुकुमारी चौधरीको जन्म मिति २०४९।३।१४ मा र वादी आलोककुमार चौधरीको जन्म मिति २०५३।१२।१५ मा भएको हो । हामी नाबालक हुँदा पिता परशुराम चौधरीले प्रतिवादी पुनमकुमारीसँग मिति २०५९।२।१० मा ऋण लिई सो ऋणबापतमा पिता नाम दर्ताको जिल्ला धनुषा विन्धी गा.वि.स. वार्ड नं. ४(क) कि.नं. १५३० को ०-१-५-० मध्ये उत्तरबाट ४ भागको २ भाग ०-०-१२-८, ऐ. ऐ. वार्ड नं. ४(क) कि.नं. १५३२ को ०-१-५-६ मध्ये उत्तरबाट ४ भागको २ भाग ०-०-१२-११ जग्गा मिति २०६९।४।२९ मा डाक हुँदा प्रतिवादी मनिसकुमार चौधरीले डाक सकार गरेको कुरा मिति २०६९।११।१ मा नक्‍कल लिई थाहा पाएको हो । विपक्षीहरूले हामी नाबालक हुँदाका अवस्थामा मुलुकी ऐन, दण्डसजायको २६ नं.को प्रतिकूल हामी नाबालकको अंश हकको जग्गा पनि डाक लिलाम गरी गराई लिएकोले हाम्रो अंश हकजति ४ भागको २ भाग अंश नछुट्याई भएको काम कारबाही मिति २०६८।०७।२६ को जायजात, मिति २०६९।०४।२९ को डाक लिलाम मुचुल्का, मिति २०६९।०५।१८ को च.नं. २३४२ को दा.खा. पुर्जीसमेत बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्‍नेसमेत बेहोराको फिराद दाबी । मिति २०६८।०७।२६ मा जायजात हुँदा वादी नितुकुमारी चौधरीको उमेर १९ वर्ष ४ महिना १२ दिन र वादी आलोककुमार चौधरीको उमेर १४ वर्ष ६ महिना