निर्णय नं. १०४६४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४६४ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०८/१३ ११८२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।८।१३ ०७२-CR-१५७८ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम बिसको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही सिपवा गा.वि.स. वडा नं. ४ बस्ने सुवास भरसमेत जबरजस्ती करणीको मुद्दामा पीडितको बकपत्रलाई महत्त्वपूर्ण कडीको रूपमा लिइने भए तापनि त्यसलाई मात्र एकाङ्की तथा यान्त्रिक किसिमले मूल्याङ्कन गर्दा न्यायको अभीष्ट पूरा गर्ने कार्यमा विचलन आउन सक्ने । (प्रकरण नं.५) जबरजस्ती करणी कसुरमा प्रमाणको मूल्याङ्कन गर्दा पीडितको बकपत्रलाई प्रमाणको पहिलो र प्रमुख कडी मान्नु पर्छ । तर जाहेरी दरखास्त र पीडितको भनाइलाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नु पर्ने हुन्छ । यस्तो प्रकृतिको अपराधमा न्यायको रोहमा विचार गर्दा न्याय मर्न जाने सम्भावनालाई समेत मध्यनजर गरी अत्यन्त विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी निष्कर्षमा पुग्नु पर्ने । पीडितको बकपत्रलाई शंकारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाण कसुर पुष्टि हुन नसकेको देखिँदा पीडितको जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र एकतर्फी यान्त्रिक तवरले प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई सजाय गर्न नहुने । (प्रकरण नं.१४) वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ताहरू श्री अन्जु शर्मा वर्मा र श्री स्निग्दा भट्ट अवलम्बित नजिर : ने.का.प.२०५९, अङ्क ३/४, पृ.१२३, नि.नं.७०६९ ने.का.प.२०६७, अङ्क २, नि.नं.८३११ ने.का.प.२०६७, नि.नं.८४६९ ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८५६ ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कमलराज विष्ट रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री वीरबहादुर डांगी पुनरावेदन अदालत, बुटवल फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड म जाहेरवालाको कान्छी छोरी परिवर्तित नाम २०७०(४) यु मिति २०७०।७।५ गते राति मेरो घरमा आएका ज्वाइँ नाता पर्ने पाहुना अकस्मात बिरामी भएकाले निजलाई दबाई लिन भनी बेलुका अं.२१.०० बजे हतार हतार छतरापुरास्थित छोरा बस्ने घरमा गएको अवस्थामा विपक्षी सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहले एक्कासी निजलाई हातपात गर्दै जबरजस्ती समाती एकान्तस्थानमा लगी पालैपालो जबरजस्ती करणी गरी मरणासन्न अवस्थामा एक्लै छाडेछन् । राति अं.१ बजे छोरी रूँदै कराउँदै घरमा आई सबै विवरण बताएपछि थाहा पाएकोले मेरी वर्ष १४ की छोरीलाई एकान्त कुनामा लगी पालैपालो जबरजस्ती करणी गरी फरार भएका अभियुक्तहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७०।७।६ को जाहेरी दरखास्त । मिति २०७०।७।५ गते २१:०० बजे म आफ्नै घरमा रहेको अवस्थामा मेरो भिनाजुलाई अकस्मात ज्वरो आई बिरामी पर्नु भएकोले म औषधी लिन भनी घरबाट गाउँमा ज