निर्णय नं. १०४६९ - हक कायम दर्ता नामसारीसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४६९ - हक कायम दर्ता नामसारीसमेत भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०१/१९ ३७९८ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्र. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१।१९ ०६९-NF-०००३ मुद्दा: हक कायम दर्ता नामसारीसमेत पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वर बस्ने कृष्णमान सिंह विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ भोटेबहाल बस्ने हंसमान सिंहको मुद्दा सकार गर्ने प्रकाशमान सिंहसमेत प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट राय माग गरी राय लिने कार्यविधिसमेत सम्पन्‍न भइसकेपश्चात् उक्त रायलाई तर्कसङ्गत रूपले खण्डन पनि नगर्ने प्रमाणमा पनि नलिने गर्न न्यायका मान्य सिद्धान्तबमोजिम नमिल्ने । (प्रकरण नं.६) अंशियारहरूको मन मिलेमा अदालतबाट लगाइने बन्डा जस्तो नभई कसैले एक ठाउँको सम्पत्ति र कसैले अर्को ठाउँको सम्पत्ति लिन सक्दछन् । कसैले घर मात्र, कसैले जग्गा मात्र लिन वा थोरै सम्पत्ति लिन एवं सम्पत्ति नै नलिनसमेत सक्दछन् । अंशियारहरूबिच मन मिलेमा बन्डा लाग्ने सम्पत्ति बन्डा नलगाउन र निजी आर्जनको वा दाइजो पेवाको सम्पत्ति पनि बन्डा लगाउन सक्ने । अंशियारहरूबिच कुरा नमिली अंश मुद्दा परेको अवस्थामा मात्र अदालतबाट कुन सम्पत्ति बन्डा लाग्ने र कुन नलाग्ने भनी यकिन गरी प्रत्येक कित्ता फोडी बन्डा लगाउन हुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री लोकभक्त राणा, श्री शम्भु थापा, श्री इन्द्रप्रसाद खरेल तथा विद्वान्‌ अधिवक्ताहरू श्री बल्लभ बस्नेत र श्री जीवन भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री चण्डेश्वर श्रेष्ठ र श्री विश्वप्रकाश सिग्देल तथा विद्वान्‌ अधिवक्ताहरू श्री मिलनकुमार राई र श्री गंगा सागर खत्री, श्री सुनिलकुमार पोखरेल र श्री उद्धव के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री केदारप्रसाद चालिसे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अलि अकबर मिकरानी मा. न्यायाधीश श्री जनार्दनबहादुर खड्का पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला प्र.न्या.चोलेन्द्र शम्शेर ज.ब.रा.: यस अदालतको संयुक्त इजलासको मिति २०६६।६।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी वादीको तर्फबाट दायर भएको निवेदनमा मुद्दा पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः बाबु तुलसीमान र आमा गणेशकुमारी जीवित हुँदैको अवस्थामा हामी वादी प्रतिवादी तीन दाजुभाइ र आमाबाबुबिच मिति २०२१।७।२७ मा अंशबन्डा गर्दा मेरो भागमा परेको जग्गा र मैले रणविक्रम शाहसँग २०१३।५।२८ मा खरिद गरेको जग्गा सर्भे नापीको अवस्थामा म बाहिर हुँदा मेरो खरिदी र अंश हकको घर जग्गा आमा गणेशकुमारीका नाममा नापनक्सा तथा दर्ता भई दा.खा. नामसारी हुन बाँकी रहेकोमा आमाकै दर्ताबाट दाजुहरूले छुट्याई लिइसकेका र मैले छुट्याई लिन बाँकी रहेको हुँदा मैले खरिद गरेको जग्गामध्ये मेरो अंश भागको का.म.न.