निर्णय नं. १०४७१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७१ - अंश भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१०/२६ २७११ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।१०।२६ ०७१-CI-११७८ मुद्दाः अंश । पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, रघुनाथपुर गा.वि.स. वडा नं.९ मा बस्ने स्व.दुखीया मुखियाको छोरा राम अशिष मुखिया विन विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला धनुषा, रघुनाथपुर गा.वि.स. वडा नं.९ मा बस्ने शिवु मुखिया विनको छोरा रामलखन मुखिया विन अंशसम्बन्धी अधिकार अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण भई जाने अधिकार भएकोले मूल पुरूषका नाति (तेस्रो पुस्ता) र पनाति (चौथो पुस्ता) बिचको अंशसम्बन्धी विवाद भएकोमा अघिल्लो पुस्तामा परेको विवादलाई पछिल्लो पुस्तासँग जोडेर हेर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रमोदप्रसाद शाह प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगन्नाथ महतो सिंह अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने न्यायाधीश : मा. जिल्ला न्या. श्री अमृतबहादुर बस्नेत धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशः- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी पुनरावेदन अदालत जनकपुर फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मूल पुरूष सिवु मुखिया विनको दुई भाइ छोरा फिरादी रामलखन मुखिया र जेठो दुखिया मुखिया र निजकी श्रीमती विल्टुनिया देवी भएकोमा विल्टुनिया देवीको मृत्यु भइसकेको छ । दाजु दुखिया मुखियाको दुई छोरा प्रतिवादी रामअशिष मुखिया र कान्छा रामनारायण मुखिया हुन् । हामीहरू सगोलमै बस्दै आइरहेका छौं । विपक्षीहरूले सगोलको सम्पत्ति पचाउने नियतले झै-झगडा गरी सगोलको सम्पत्ति आ-आफ्नो श्रीमतीको नाउँमा राख्ने बराबर कलह गर्नेसमेतका कारणले सगोलमा बस्न सक्ने अवस्था नभएकोले सबै बन्डा गरी बसौं भनी विपक्षी प्रतिवादीहरूलाई भन्दा नमानेकोले यो नालेस गर्न आएको छु । तसर्थ नालेस परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश छुट्याई हाम्रो नाउँमा दर्ता गरी चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । विपक्षीले देखाउनु भएको नाता सम्बन्ध ठिकै छ । वादीको दाबीअनुसार हामीले वादीलाई अंश दिनुपर्ने होइन । विपक्षी हाम्रा बाबुकै पालामा घरसारमा अंशबन्डा भई आफ्नो घरद्वार बनाई अलग बसी आएका छन् । हाम्रो बुबाले भरेको १ नं. फाँटवारी र ७ नं. लगतमा विपक्षीको नाउँ भरिएको छैन । बाबुको पालादेखि नै हाम्रो घरद्वार खानपिन खती उपती अलग अलग भएको छ । वि.सं.२०४४ सालमा मौजे मुखियाले दिएको अंश मुद्दा हाम्रो बुबा दुखिया र वादी लखनले संयुक्त प्रतिउत्तर पत्र दर्ता गराउँदा सोही समयमा घरसारमा भिन्न भएको भनी उल्लेख गरी प्रतिउत्तर गर्नु भएको छ । वादीले उक्त अंश मुद्दामा आफ्नो नाउँ लखन उल्लेख गरेका छन् भने यस मुद्दामा राम लखन उल्लेख गर्नुभएकोबाट पनि निजले हामीमाथि बदनियत चिताई हामीले आर्जन गरेको सम्पत्तिमा लोभ लागी यो झुठ्ठो मुद्दा दिनु भएको हो । वादीलाई हामीले अंश दिनुपर्ने होइन । झुठ्ठा वादी दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामअशिष मुखिया विन र रामनारायण मुखिया विनको संयुक्त प्रतिउत्तरपत्