निर्णय नं. १०४७६ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७६ - मोही लगत कट्टा भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/११/२० ५३७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।११।२० ०७४-CI-०५९४ मुद्दाः मोही लगत कट्टा पुनरावेदक / प्रतिवादी : हरिप्रसाद फुयालको श्रीमती माननाथ भण्डारीको छोरी काठमाडौं जिल्ला, काभ्रेस्थली वडा नं. ७ हाल तारकेश्वर न.पा. वडा नं. २ बस्ने वर्ष ५९ की भवानी फुयाल विरूद्ध प्रत्यर्थी / वादी : भिमराज वन्तको नाति डिल्लीराज वन्तको छोरा गोरखा जिल्ला वगुवा गा.वि.स. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने वर्ष ५६ को दिलिपराज वन्तसमेत एक पुस्ताबाट अर्को पुस्तामा मोहियानी हक हस्तान्तरण हुने गरी व्याख्या भइसकेको परिप्रेक्ष्यमा समान पुस्ताको सौता दिदीको मोहियानी हक सौता बहिनीमा नामसारी गर्न नमिल्ने भनी व्याख्या गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्याख्यात्मक सङ्कुचन हुने । एकासगोलमा रही जग्गावालाको जग्गामा परिश्रम गर्ने, उत्पादकत्व बढाउने, जीवनभर त्यसैमा आश्रित रहने तर दर्तावाला मोही मरेपछि त्यसमा मोही हक प्राप्त गर्न नसक्ने भनी उक्त ऐनको दफा २६(१) को सङ्कुचित व्याख्या गर्नु न्यायपूर्ण हुन नसक्ने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताद्वय श्री गोविन्द शर्मा बन्दी र श्री राजुप्रसाद चापागाई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजु फुयाल अवलम्बित नजिर : ने.का.प.२०५६, अङ्क ७, नि.नं.६७४७ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः श्री विक्रमप्रसाद पाण्डेय भूमि सुधार कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी उच्च अदालत पाटन फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड हाम्रा नाममा संयुक्त दर्ता रहेको काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गाको मोही मिश्रीदेवी फुयाल भएकोमा निज मिति २०६०।८।०३ मा आफ्नो कालगतिले परलोक भई मृतक मोहीको शेषपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिमका मोही हक नामसारी हुने कानूनी हकदार कोही नभई सो जग्गा हामी जग्गाधनीहरूकै जोतभोगमा रही आएको हुँदा उक्त जग्गाको बेहकदार मोही लगत कट्टा गरिपाउँ भन्नेसमेत बेहोराको दिलिपराज वन्त र विष्णुप्रसाद ढकालको भूमि सुधार कार्यालय, काठमाडौंमा परेको निवेदनपत्र । वादी दाबीको उक्त कित्ता जग्गाको मोही मेरी सौतेनी दिदी मिश्रीदेवी फुयाल भएको, निजको हक खाने हकदार म सौता बहिनी भवानी फुयाल मात्र भएको हुँदा बेहकदार मोहीको लगत कट्टा हुने होइन । मैले मोही हक नामसारी माग गरेको हुँदा मेरा नाममा मोही नामसारी हुने नै छ । जग्गा धनीहरूको माग दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको भवानी फुयालको लिखित जवाफ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही हक नामसारी हुने हकदारहरूको नाताभित्र सौताको नामको मोही हक सौताका नाममा नामसारी हुने कानूनी व्यवस्था भएको नदेखिँदा वादी दाबीबमोजिम