निर्णय नं. १०४८५ - अबन्डा सम्पत्ति बन्डा गरी चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४८५ - अबन्डा सम्पत्ति बन्डा गरी चलन चलाई पाउँ भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१०/०६ ३०३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।१०।६ ०६८-CI-०९७८ मुद्दा : अबन्डा सम्पत्ति बन्डा गरी चलन चलाई पाउँ पुनरावेदक / वादी : आशामरूको नाति, बाबुराम नकर्मीको छोरा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ५ मुगल छें टोल बस्ने हरिकृष्ण नकर्मी विरूद्ध विपक्षी / प्रतिवादी : आशामरूको नाति पूर्णबहादुर नकर्मीको छोरा काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं. १७ मुगल छें बस्ने तेजबहादुर नकर्मी वादीका पिता र प्रतिवादीका पिताबिच अंशबन्डापूर्व नै सगोलमा रहेको अवस्थामा प्रतिवादीको पिताको नाउँमा रहेको गुठी जग्गाको मोही कायम भएको अवस्थामा विवादित जग्गा सगोलको सम्पत्ति देखिन आएबाट वादीको बाबुको पनि अंश हक भएको स्वत: मान्नुपर्ने । (प्रकरण नं.२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी ‘सम्भव’ र विद्वान् अधिवक्ता श्री विनोद महर्जन विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ता श्री पुष्पराम पौडेल अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ६, नि.नं.८८४६ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ गुठी संस्थान ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने- जिल्ला न्यायाधीश श्री अनन्तराज डुम्रे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने- न्यायाधीश श्री भरतप्रसाद अधिकारी न्यायाधीश श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड बाजे आशामरू तथा बजै तुयु नकर्मीको तर्फबाट दुई छोराहरू जेठा विपक्षी प्रतिवादीका पिता पूर्णबहादुर नकर्मी १ र कान्छा म फिरादीका पिता बाबुराम नकर्मी १ समेत जना २ को जायजन्म भएकोमा बाजे आशामरूका जेठा छोरा विपक्षी प्रतिवादीका पिता पूर्णबहादुर नकर्मी र कान्छा छोरा म फिरादीको पिता बाबुराम नकर्मी दुई दाजुभाइ एकासगोलमा नै बसी आएकोमा घर सल्लाहबमोजिम नै मिति २०३६।१०।१० मा अंशबन्डा गरी छुट्टी भिन्न भई पैतृक सम्पत्तिमध्ये काठमाडौं जिल्ला मच्छेगाउँ वडा नं.६(ख) कि.नं.९२ क्षे.फ.२-१०-०-० को गुठी जग्गा सर्भे नापी हुँदा जग्गाधनी गुठी संस्थानअन्तर्गत ललितपुर भिमसेन गुठी र जोताहा मोहीमा विपक्षी प्रतिवादीका पिता पूर्णबहादुर नकर्मीका नाउँमा मोही दर्ता कायम भएको छुट्टै गुठी कित्ता जग्गालाई घर सल्लाहबमोजिम पछि रैतानी परिणत हुने समयमा दाजुभाइमध्ये आधा आधा बाँड्ने भनी सहमति भएबाट उक्त जग्गालाई अबन्डा नै राखी सम्पूर्ण चलअचल श्रीसम्पत्ति सबै नरमगरम मिलाई बन्डा छुट्याई रजिस्ट्रेसन पारितसमेत गरी अबन्डा रहेको सम्पत्ति संयुक्त भोग चलन गरी भिन्न भई भोगी आएकोमा उल्लिखित अबन्डा पैतृक सम्पत्ति स्वरूप का.जि.मच्छेगाउँ वडा नं.६(ख) कि.नं.९२ क्षे.फ.२-१०-०-० को जग्गा ललितपुर भिमसेन गुठीको जग्गा हो । सो जग्गामा तिमी भाइको आधा र मेरो आधा हक लाग्ने जग्गा भएकोले आधा आधा जग्गा छुट्याई दिने लिने छु । मोहियानी जग्गा भएकोले बन्डा पत्रमा नखुलाएको हो भनी उल्लिखित अबन्डा पैतृक सम्पत्ति गुठीको जग्गा आधा छोडी दिन मन्जुर भएको भनी मन्जु