निर्णय नं. १०४९४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४९४ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०५/२३ ३२९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।५।२३ ०७६-WH-००५० मुद्दा: बन्दीप्रत्यक्षीकरण निवेदक : अम्बेश्‍वर इन्जिनियरिङ हाइड्रोपावर जावलाखेल, ललितपुरमा भाइस प्रेसिडेन्टको रूपमा कार्यरत मलाड इस्ट मुम्बई भारत घर भई हाल कारागार कार्यालय जगन्‍नाथ देवलमा थुनामा रहेकी बन्दना सोनी भन्‍ने धनश्‍याम सोनी विरूद्ध प्रत्यर्थी : उच्च अदालत पाटन, हरिहरभवन, ललितपुरसमेत नेपालको संविधानको धारा ३५(१), मानव अधिकारसम्बन्धी विश्‍वव्यापी घोषणापत्र, १९४८ को धारा ३, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा ३ बमोजिम नै मानवले जन्मजात र नैसर्गिक रूपमा प्राप्त गर्ने मानव अधिकारअन्तर्गत स्वास्थ्य उपचारको हकको उपभोग गर्न आफ्नो शरीरलाई स्वस्थ हुने गरी स्वास्थ्य अधिकारको उपभोग गर्न पाउने । स्वास्थ्यसम्बन्धी हकको उपलब्धता र कार्यान्वयन गराउने दायित्व राज्यमा निहित रहेको हुने । आफ्नो स्रोत, साधन र क्षमतामा आधारित भई यस्ता हक अधिकारको उच्चतम र पूर्ण कार्यान्वयनमा राज्य सदैव क्रियाशील, प्रतिबद्ध र सहयोगी हुनुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सतीशकृष्ण खरेल तथा विद्वान्‌ अधिवक्ता श्री रमेश बडाल र विद्वान्‌ अधिवक्ता अपुर्व खतिवडा प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्‍यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ७, नि.नं.८६५० ने.का.प.२०५४, नि.नं.६३५८, पृ.२२४ सम्बद्ध कानून : नेपालको संविधान विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विशेष अदालत ऐन, २०५९ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार रहेको छ:- म निवेदकले MBA सम्मको शिक्षा हासिल गरेकी छु । मैले २०६८।४।१ देखि ललितपुर जिल्ला ललितपुर महानगरपालिका जावलाखेलमा अवस्थित अम्बेश्‍वर इञ्‍जिनियरिङ हाइड्रोपावर प्रा.लि.को Vice President को पदमा कार्यरत रहेकी छु । उक्‍त कम्पनीबाट मासिक पारिश्रमिक, परामर्श सेवा तथा ब्याजसमेत बापत रकमहरू प्राप्‍त गरेकी छु । आफू भारतीय नागरिक भई नेपालको कानूनको पूर्ण ज्ञान नरहेको र कम्पनीले परिश्रमिक तथा परामर्श सेवासमेत बापतको रकम भुक्तानी दिँदाको अवस्थामा प्रचलित नेपाल कानूनबमोजिमको प्रक्रिया पूरा गरी कट्टा गर्नु पर्ने करको रकमसमेत कट्टा गरी भुक्तानी दिइएको छ भन्‍ने विश्‍वासमा पारिश्रमिक रकम मेरो नाममा रहेको बैंक खाताहरूमा जम्मा गर्ने गरिएको थियो । मेरो पारिश्रमिकबापतको रकम लिई भारततर्फ जाँदा मलाई विमानस्थलमा विदेशी विनिमय बरामद गरी विदेशी विनिमयसाथ पक्राउ गरी मलाई सोही मुद्दामा थुनामा राखिएकोमा सोबमोजिम मुद्दा नचलाई करको सम्बन्धमा मुद्दा चलाइएको छ, जबकि करको मुद्दाको लागि अनुसन्धान तहकिकात गर्न मलाई पक्राउ गरिएको होइन । नेपाल सरहदभित्र रहँदाको अवस्थामा मेरो बैंकमा देखा परेका सबै रकम करयोग्य भई कर नतिरेको भनी राजस्व चुहावट ऐन प्रयोग गरी मुद्दा दायर गरेको पाइन्छ । उक्त अभियोग पत्रमा नै परामर्श सेवामा प