निर्णय नं. १०४९६ - जिउ मास्ने बेच्ने l
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४९६ - जिउ मास्ने बेच्ने l भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०७/०५ २५९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।७।५ ०७४-CR-१५०३ मुद्दाः जिउ मास्ने बेच्ने l पुनरावेदक / प्रतिवादी : सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय सप्तरीमा थुनामा रहेको वर्ष ५७ को वैजनाथ यादव विरूद्ध प्रत्यर्थी / वादी : आमोदचन्द्र झाको जाहेरीले नेपाल सरकार सम्बद्ध घटना परिस्थितिसँग सामञ्जस्यता राख्ने पीडितको मौकाको अभिव्यक्तिलार्इ प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै हुँदा मुद्दाको कारबाही र किनाराको क्रममा गरिने प्रमाणहरूको मूल्याङ्कन कानूनी व्यवस्था मात्रको निरपेक्षतामा नभई सम्बद्ध घटना र परिस्थितिको सापेक्षतामा एक विवेकयुक्त चेतद्वारा निर्दिष्ट सत्यको खोजीमा आधारित हुने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुमनकुमार पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या. श्री कृष्णप्रसाद बास्तोला सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री रामप्रसाद ओली माननीय न्यायाधीश श्री दयानाथ खरेल उच्च अदालत जनकपुर, राजविराज इजलास फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा (१) बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ- मुद्दाको तथ्य मिति २०५७।५।२९ गते बेलुकी अन्दाजी ९ बजेको समयमा राजविराज नगरपालिका वडा नं.६ स्थित वैजनाथ यादवको घरमा महिला चिच्याएको आवाज सुनी त्यहाँ गई हेर्दा एउटा अपरिचित मान्छेले महिलालाई जबरजस्ती समाती आफ्नो काबुमा पार्न प्रयत्न गरिरहेको थाहा पाई बन्द रहेको ढोका खोल्दा कोठाभित्रबाट एउटा पुरूष मान्छे निस्की भागेको र एउटा महिला पनि अतालिँदै बाहिर आई मलाई सुनिता यादवले नोकरी लगाई दिने प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्ति गर्न लगाएकी हुन् भनी बताएकी हुँदा निज वैजनाथ यादव, सुनिता यादव, कमली यादव तीनै जनालाई जिउ मास्ने बेच्ने ऐनअन्तर्गत कारबाही गरिपाउँ भन्ने मिति २०५७।५।३० को जाहेरी दरखास्तको बेहोरा । मिति २०५७।५।२८ गते दिदी सकिला खातुनले राजविराजमा रक्सी पार्ने औषधी किन्न पठाएकोले राजविराजमा औषधी किनी पहिल्यैदेखि चिनजानकी सुनिता यादवले मलाई मिता भनी बोलाई आफ्नो घर लगी जागिर लगाइदिने लोभ देखाई कोठामा छाडी नोकरी लगाइदिने मान्छे आएको छ भनी लोग्ने मान्छेलाई म भएको कोठामा पठाएपछि निज लोग्ने मान्छेले वैजनाथलाई रू.३००।- दिएर मलाई करणी गर्न खोजेको हुँदा मैले सोअनुसार अनुचित कार्य गर्न दिन इन्कार गरेपछि मलाई खुकुरी देखाई ज्यान मार्ने धम्की दिएकोले म डरले चुप लागेँ । निजले मलाई करणी गरी गरेर गए l करणी गर्नेमा मैले चिनेका महमद जसो र महमद उस्मान थिए भन्नेसमेत बेहोराको पीडित बेबी खातुनले गरेको अधिकारीप्राप्त अधिकारीसमक्ष गरेको मौकाको कागज । जिल्ला सप्तरी राजविराज-६ खर्साल टोल राजविराज बजारतर्फ जाने बाटोदेखि पश्चिम राजकुमार साहको बाँसघारीदेखि पूर्व, राजकुमार साहको घरदेखि दक्षिण, उपेन्द्र यादवको धानखेतदेखि उत्तर चारकिल्लाभित्र रहेको पश्चिमतर्फको घर उत्तर दक्षिण