निर्णय नं. १०५०२ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५०२ - अंश दर्ता भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/१०/०५ ४४७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।१०।५ ०७२-CI-०४५८ मुद्दा : अंश दर्ता पुनरावेदक / प्रतिवादी : झमन राउत कंकरको नाति रामदेव राउत कंकरको छोरा जिल्ला पर्सा, गा.वि.स. पकहा मैनपुर वडा नं. ३ बस्ने गुदर राउत कंकरसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा, गा.वि.स. पकहा मैनपुर वडा नं.३ बस्ने सतन राउत कंकर मरी मु.स.गर्ने निजको श्रीमती वृजमती देवी लिखतमा बकसपत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने र त्यस्तो कार्य अंशबन्डाको महलको उद्देश्य र भावनाविपरीत हुने । (प्रकरण नं.१६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, वैतनिक विद्वान् अधिवक्ताद्वय श्री इन्दीरा सिलवाल र श्री रजिता थापा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव प्रसाद यादव र विद्वान् अधिवक्ताहरू श्री राजिव आचार्य एवं श्री प्रमोद प्रसाद अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७८८ ने.का.प.२०७६, अङ्क ३, नि.नं.१०२१७ सम्बद्ध कानून : मुलुकी ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री श्यामसुन्दर अधिकारी पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.डा.श्री कुलरत्न भुर्तेल मा.न्या.श्री तिलप्रसाद श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भई पुनरावेदनसरह दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड झमन राउतको छोराहरू फौजदार राउत, रामदेव राउत, रामवरण राउत, शिवनाथ राउत, वैजनाथ राउतसमेत ५ जना हुन् । फौजदार राउतको १ मात्र छोरा म वादी सतन राउत हुँ । रामदेव राउतको छोरा प्रतिवादी गुदर राउत हुन । गुदर राउतको पत्नी प्रतिवादी राधिका तथा छोराहरू प्रतिवादी परमानन्द, नवल, वृजेश, श्रीलालसमेत ४ भाइ हुन् । झमन, फौजदार, रामदेव, शिवनाथ, वैजनाथ तथा निजहरूको पत्नीहरू र रामवरणको पत्नीसमेत अघिपछि परलोक भइसक्नु भएको छ । शिवनाथ र वैजनाथको कुनै सन्तान छैन । रामवरणको २ छोरी मात्र सन्तान भएकोमा निजहरूको विवाह भइसकेको छ । सगोलको परिवारको सम्पत्ति प्रतिवादीहरूको नाउँमा रहेको छ । सगोलको परिवारको जग्गा जमिनको बाली आयस्तासमेत निजहरूले एकलौटी पार्न लागेको र पारिवारिक संख्यामा वृद्धि भई सधैँ गृह कचिङ्गल भइरहने गरेको छ । मैले सगोलमा बस्नुभन्दा भिन्न भई बस्नु नै श्रेयस्कर ठानी प्रतिवादीहरूलाई भेला जम्मा गराई तपाइँहरूले सगोलको परिवारको जग्गा जमिनको बाली आयस्ता एकलौटी नपारी मेरो अंश छुट्याई दिनुहोस् भनी अनुरोध गर्दा मेरो अंशहक छुट्याउन इन्कार गर्नुभयो । प्रतिवादीहरूको र मेरोबिचमा चुल्हो मानो छुट्टिएको कुनै लिखत प्रमाण नहुँदा यो फिराद परेको अघिल्लो दिनलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई सो सम्पत्तिमा ३ खण्डको १ खण्ड मेरो अंशहक छुट्याई मेरो नाउँमा दर्ता गरी लागेको कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्