निर्णय नं. १०५०३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५०३ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/१०/२० ३४५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।१०।२० ०७६-WH-०२३३ मुद्दा: बन्दीप्रत्यक्षीकरण निवेदक : सोमालिया (Somalia), मोगादिसु (Mogadisu) ठेगाना भई नेपालमा शरण लिई हाल केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेका सोमालियाका नागरिक अब्दी फहाद युशुफ (Abdi Fahad Yusuf) विरूद्ध विपक्षी : अध्यागमन विभाग, कालिकास्थान, काठमाडौंसमेत कैद भुक्तान गरी छुटेको व्यक्तिलाई अनुमति बिना हिरासतमा राख्ने कार्य संविधान र नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी सन्धिहरूको प्रतिकूल हुने । (प्रकरण नं.३) कुनै विदेशी नागरिकलार्इ निष्काशन गर्ने निर्णय लिनुपूर्व त्यस्तो विदेशी व्यक्तिको कानूनी हैसियत, निजको देश फिर्ता पठाउँदा हुन सक्ने सम्भावित जोखिम र परिणामलाई मध्यनजर गर्नुपर्ने । (प्रकरण नं.४) सामान्यतया आफ्नो भूमि वा आफ्नो क्षेत्राधिकार भित्र पर्ने भूभागमा शरण लिने वा खोज्ने गैरनागरिक व्यक्तिलाई जिउ ज्यान र यातनाको खतरा रहेको उत्पत्तिको देशमा फिर्ता पठाउनु नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री शिवप्रसाद कोइराला र विद्वान् अधिवक्ता श्री हिमेशकृष्ण खरेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी अवलम्बित नजिर : ने.का.प.२०६४, अङ्क ६, नि.नं.७८६० ने.का.प.२०६८, अङ्क ९, नि.नं.८६८४ सम्बद्ध कानून : नेपालको संविधान अध्यागमन ऐन, २०४९ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधान २०७२ को धारा ४६ र १३३(२) बमोजिम यसै अदालतमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ: तथ्य खण्ड म एक सोमालियाको नागरिक भएकोमा मेरो देशमा चलेको गृहयुद्धको कारण आफ्नो ज्यान जाने तथा चरम यातनाको डर भएकोले म आफ्नो देश छाडी भाग्ने क्रममा नेपालमा आई शरणार्थीको रूपमा बसिरहेको समयमा मसमेतको विरूद्धमा मिति २०७४/०९/२८ मा काठमाडौं जिल्ला अदालतमा दायर भएको लागु औषध मुद्दामा मलाई सम्मानित काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद र रू.१,००,०००/- जरिवाना गरेकोमा मैले उक्त कैद र जरिवाना मिति २०७६/०७/२७ मा नै भुक्तान गरिसकेको अवस्थामा पनि मलाई थुनामुक्त नगरी प्रहरी साथमा नै विपक्षी अध्यागमन विभागमा उपस्थित गराइयो । तत्पश्चात् उक्त विभागमै मलाई अन्दाजी १८ दिन थुनामा राखियो । मलाई अध्यागमन विभागमा थुनामा राख्दा थुनाको आधार र कारण खुल्ने कुनै थुनुवा पुर्जी पनि दिइएन । मलाई तिम्रो मुलुक फिर्ता पठाउँछौं त्यसैले आफ्नो मुलुक फिर्ता जाने कागजात, राहदानी र हवाई टिकट उपलब्ध गराउ भनी मौखिक निर्देशन दिइयो । म सोमालियामा आसन्न मृत्यु तथा यातनाको भयबाट आफ्नो जिउज्यान बचाएर चरम यातनाबाट आफ्नो आत्मरक्षाको लागि नेपाल आएको एक शरणार्थीलाई चरम यातना तथा ज्यानकै खतरा भएको मुलुक फर्किनको लागि कागजात, राहदानी, हवाई टिकट कारागारभित्रबाट नै उपलब्ध गराउनु भन्नु र जहाँबाट जिउ ज्यानको खतरा र चरम यातना आसन्न छ त्यहीँ मलाई फर्काउनु कानून र मानवीय आधारमा समेत न्यायसम्मत छैन । अध्यागमन विभागमा थुनामा रहेको करिब १८ दिनपछि विपक्षी अध्यागमन विभागले मलाई कारागार कार्यालय जगन्नाथ देवलको जिम्मा लगाई पुनः कारागार चलान गर्यो । कारागारमा