निर्णय नं. १०५१८ - भ्रष्टाचार (घुस / रिसवत)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५१८ - भ्रष्टाचार (घुस / रिसवत) भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०९/२९ ३६५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।२९ ०७४-CR-१२९२ मुद्दाः- भ्रष्टाचार (घुस / रिसवत) पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतद्वय बाबुराम पौडेल र नविनराजा बुढाथोकीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नरनाथ वाग्लेको नाति गोपालप्रसाद वाग्लेको छोरा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.९ बस्ने ध्रुवप्रसाद वाग्ले कसैको दबाब, प्रभावमा परी वा आफ्नो घोषित, अघोषित राजनीतिक वा अन्य आस्थाको कारण माथिल्लो तहमा हुने संस्थागत भ्रष्टाचारलाई लुकाउन दबाउन वा प्रकाशमा ल्याउन नदिन अनुसन्धानकर्ताले कुनै प्रकारको भूमिका खेल्दछ भने त्यस्ता अनुसन्धानकर्ता स्वतन्त्र अनुसन्धान गर्न असक्षम हुने । केही तल्लो तह वा स्तरमा काम गर्ने राष्ट्रसेवकउपर मुद्दा चलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्य प्रगति देखाउने तर संस्थागत रूपमा भएका भ्रष्टाचारलाई उजागर नगरी वा कुनै प्रकारले प्रभावित भई वा कसैप्रति सहानुभूति राखी अनुसन्धानको कोण नै बदली कसैलाई बचाव र प्रमाणित हुन नसक्ने प्रकृतिको आरोप लगाउँछ वा लगाउने गर्दछ भने त्यस्ता अनुसन्धानकर्ताले नेपालको संविधानको धारा २३८ र २३९ ले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धमा गरेको प्रबन्ध, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ को मर्म र मनसायप्रति छलकपट वा खेलवाड गरेको मान्नुपर्ने । अनुसन्धानमा संलग्न निकाय र अधिकारीहरू आफ्नो कर्तव्य र जिम्मेवारीप्रति संवेदनशील र सजग भएनन्, आफ्नो अनुसन्धानको जिम्मेवारी लिनुपरेन, गलत वा अपूर्ण वा पूर्वाग्रहयुक्त वा प्रायोजित अनुसन्धान गरियो भने वास्तवमा आपराधिक जिम्मेवारी लिनुपर्ने राष्ट्रसेवक गलत काम गरे पनि उन्मुक्ति पाई बस्ने र निर्दोष वा कसुरको मात्राअनुसार तल्लो वर्गमा पर्ने राष्ट्रसेवकले आफ्नो कसुरको मात्राभन्दा बढी सजाय भोग्नुपर्ने भन्ने नेपालको संविधान र भ्रष्टाचारसँग सम्बन्धित प्रचलित कानूनहरूमा विधायिकाको मनसाय नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्रसिंह भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ भ्रष्टाचार निवारण ऐन, २०५९ सुरू तहमा फैसला गर्नेः अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य विशेष अदालत काठमाडौं फैसला न्या.अनिलकुमार सिन्हा : विशेष अदालत काठमाडौंको मिति २०७४।९।६ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५, तिनकुने स्थित मेरो घरमा खानेपानी कार्यालयद्वारा जडित धाराको पानी प्रयोग गर्दै आएकोमा सडकमा ढल निकासको काम भइरहेकोले डोजरले खन्दा मेरो घरमा पानी आउने पाइप भाँचिन गई बिगत केही दिनदेखि धारामा पानी आउन छाडेको हुँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड शाखा कार्यालय बानेश्वर, मिनभवनमा गई बुझ्दा उक्त कार्यालयका कर्मचारी