निर्णय नं. १०५१९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५१९ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/१०/०८ २३१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।१०।८ ०७६-WO-०३०५ मुद्दा:– उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, धापासी गा.वि.स वडा नं.९ को परिवर्तित ऐ. टोखा नगरपालिका वडा नं. ५ को बसोबास भई हाल केन्द्रीय कारागार कार्यालय जगन्‍नाथ देवल काठमाडौंमा बस्‍ने प्रमोदकुमार खड्का विरूद्ध विपक्षी : प्रशान्‍त जयसवालको जाहेरीले नेपाल सरकारसमेत रीतपूर्वक तामेल भएका म्यादलाई सुनुवाइको मौका दिने नाउँमा बदर गर्दै जाने हो भने अदालतका काम कारबाहीहरू अन्‍तहीन रूपमा रहिरहने, दण्डहीनता बढ्ने, न्यायिक प्रक्रिया अवरूद्ध भई समाजमा अशान्ति बढ्न जानेसमेत देखिएकोले यस्ता रीतपूर्वक भएका काम कारबाहीहरूलाई समर्थन गर्दै न्यायिक मार्ग अवरूद्ध हुनबाट जोगाउने दायित्वसमेत अदालतको हुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का तथा विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मी खड्का थापा र श्री सन्तोष भण्डारी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुषाल अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००४ सम्बद्ध कानून : फौजदारी कार्यविधि संहिता, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आदेश न्या.सुष्मालता माथेमा : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त बेहोरा र निर्णय यसप्रकार छ:- तथ्य खण्ड निवेदक म विगत ४ वर्षअघिदेखि काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ५ (साबिक धापासी गा.वि.स. वडा नं. ९) मा बस्‍दै आएको व्यक्तिलाई बैंकिङ कसुरसम्बन्धी झुट्टा मुद्दा लगाई बस्‍दै नबस्ने गरेको अर्थात् काठमाडौं जिल्ला, तारकेश्‍वर नगरपालिका वडा नं. ९ मा बस्‍ने भनी गलत ठेगाना देखाई म्यादवालाको घर दैलोमा टाँस भएको भन्‍दै मेरो नाउँको म्याद बेपत्ते टाँस गरी म निवेदकले उक्त बेपत्ते म्यादको जानकारी पाउन नसकी प्रतिवाद बयान दिन नपाई म्याद गुज्रन गई फैसला भएको मिति २०७६।१।१६ बाट ६ महिनाभित्र अर्थात् मैले थाहा जानकारी पाएको मिति २०७६।४।३ गतेबाट म्यादैभित्र उजुरी प्रतिवाद लेखी दर्ता गर्न सम्मानित उच्च अदालतसमक्ष उपस्थित भएकोमा मिति २०७६।०४।०६ गते रजिस्ट्रारज्यू आफैँले मेरो निवेदनमा दर्ता गर्न मिल्‍ने भनी तोक लगाई मेरो प्रतिउत्तरपत्र (बयान) दर्ता भएकोमा मेरो निवेदन दर्तापश्चात् मैले पेस गरेको प्रमाण र मिसिल संलग्न प्रमाणको मूल्याङ्कन गरी मेरो निवेदनबमोजिमको आदेश भई मेरो नाउँमा जारी भएको बेरितको पुर्जी (म्याद) बदर गरी मेरो प्रतिउत्तरसरहको (बयान) गराई तारेखमा रही मुद्दाको पुर्पक्ष गर्ने गरी रजिस्ट्रारज्यूबाट आदेश गर्नुपर्नेमा सुरू म्याद मिति २०७५।६।७ मा घर दैलोमा टाँस भएको देखिँदा निवेदकको मागबमोजिम गर्न मिलेन । सोको जानकारी निजलाई दिनू" भन्‍ने रजिस्ट्रारज्यूबाट आदेश भएको हुँदा सो दरपिठ आदेश र फैसलासमेत उत्प्रेषणको आदेशद्वारा बदर गरी मलाई प्रतिवाद गर्ने मौका पाउँ भन्‍नेसमेत आदेश गरिपाउँ भन्‍नेसमेत बेहोराको निवेदन बेहोरा । यसमा के कसो भएको ? निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार, कारणसहित यो आदेशप्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस