निर्णय नं. १०५२३ - राज्य विरूद्धको अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५२३ - राज्य विरूद्धको अपराध भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०३/०२ १६३९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।३।२ ०७५-CR-१०९३ मुद्दाः राज्य विरूद्धको अपराध पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका-१३ एकान्तकुना बस्ने दिलबहादुर के.सी.को छोरा राष्ट्रिय फुटबल टिमको पूर्वखेलाडी हाल प्रशिक्षक अन्जन के.सी.समेत कानूनले स्पष्ट रूपमा परिभाषित गरी कसुर मानेको विषयमा त्यस्तो कानूनको स्पष्ट उल्लङ्घन गरेको भनी स्थापित नभएसम्म अर्कै प्रयोजनलाई बनेको विद्यमान कुनै कानूनी प्रावधानलाई तानतुन पारेर व्याख्या गरी कसुर कायम गर्न (nullum crimen sine lege) र सजाय गर्न (nulla poena sine lege) नहुने । मानव अधिकार कानूनको व्याख्याले उदारवादी र समावेशी धारलाई अनुशरण गर्छ; अधिकार छ वा छैन भन्ने प्रश्न उठेमा सकेसम्म र मिलेसम्म अधिकार छ भन्नेतर्फ अदालतले व्याख्या गर्दै मानव अधिकारको संरक्षण गर्छ भने फौजदारी कानूनले व्यक्तिगत स्वतन्त्रताको अपहरण गर्ने र जथाभावी प्रयोगले निरङ्कुशतालाई प्रश्रय दिने हुँदा यसको कठोर व्याख्या गरिनुपर्छ; कुनै कानूनी प्रावधान आकर्षित हुन्छ वा हुँदैन भन्ने द्विविधाको स्थितिमा आकर्षित हुँदैन भन्ने व्याख्या गरिनुपर्छ । यस्तो व्याख्या लोकतन्त्र, विधिको शासन र सीमित सरकारको अवधारणाअनुकूल हुने । (प्रकरण नं.११) संविधानको धारा २०(४) र मुलुकी अपराध संहिता, २०७४ को दफा ७ को प्रतिबन्धात्मक व्यवस्थाले देवानी कानून निर्माण गरी देवानी दायित्व (civil liability) थप्ने, अनुशासनात्मक कारबाही (disciplinary action) गर्ने प्रबन्ध गर्ने, कुनै कार्य गरेबापत अयोग्यता (disqualification) कायम गर्ने वा निश्चित अवधिसम्म व्यावसायिक कार्य गर्न रोक्ने (suspension) वा विदेशी नागरिकको हकमा निजलाई देश निकाला (deportation) गर्ने जस्ता कार्यहरू गर्नलाई प्रतिबन्ध लगाउँदैन । अर्थात् पश्चात्दर्शी कानून निर्माण गरी वा कानूनी प्रबन्ध गरी त्यस्ता कार्यहरू गर्न सकिन्छ; त्यसो गर्न संविधान वा कानूनको व्यवस्थाले नरोक्ने । (प्रकरण नं.१४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०४५, नि.नं.३६०३ ने.का.प.२०६१, नि.नं.७४३२, पृ.११०३ ने.का.प.२०६४, नि.नं.७८६६, पृ.८२७ ने.का.प.२०६६, नि.नं.८२००, पृ.१२३५ ने.का.प.२०६९, नि.नं.८८६०, पृ.१०९६ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ राज्य विरूद्धको (अपराध र सजाय) ऐन, २०४६ फैसला न्या.आनन्दमोहन भट्टराई : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरूमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा नेपालले भाग लिई अन्तर्राष्ट्रिय फुटबल खेल खेल्नका लागि आबद्ध रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू खेल्न गएकोमा सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २००९ को साफ च्याम्पियनसिप (SAAF Championship), सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल,