निर्णय नं. १०५२५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५२५ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०४/२१ १३६१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।४।२१ ०७५-CR-०८४७ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : भोलादास तात्मको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : यदुनन्दन ठाकुरको छोरा विदेश भारत, विहार राज्य मधुवनी जिल्ला थाना जयनगर ग्रामपोष्ट कमलवारी ग्राम घर भई हाल जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं.१७ स्थित रामजानकी मन्दिरमा पुजारी भई बस्ने परिक्षण भन्‍ने रामपरिक्षण ठाकुर मृत्यकालीन घोषणाको सम्बन्धमा मृतकले आफ्नो मृत्युको बारेमा मृत्यु हुनुभन्दा अगाडि आधिकारिक रूपमा आफ्ना भनाइहरू राखेको हुनुपर्ने । कुनै आधिकारिक व्यक्तिको रोहवरमा मृतकको भनाइ व्यक्त नभएको र त्यसलाई प्रामाणिक मान्यता दिनुपर्ने आवश्यक रोह रीत नपुगेकोमा मृतकले मृत्यु हुनुपूर्व व्यक्त गरेको भनाइले प्रामाणिक मूल्य र मान्यता राख्‍न नसक्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री रिद्धिनाथ निरौला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने अदालत : मा.न्या.श्री विनोदकुमार पोखरेल सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने अदालत : मा.न्या.श्री गोपाल भट्टराई मा.न्या.श्री नसरूल्लाह अन्सारी उच्च अदालत जनकपुर, राजविराज इजलास फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड जिल्ला स्वास्थ्य कार्यालय, सिराहाको शव गृहमा राखिएको मृतक सुबोधकुमार दासको दायाँ कानको माथिको भागमा २ इन्च काटिएको, माथिपट्टिको एउटा दाँत भाँचिएको, दायाँ गालामा ३ से.मी. गोलो पिल्सिएको घाउ रहेको, दायाँपट्टि निधारदेखि टाउकोसम्म २ इन्च काटी १० वटा टाँका लगाएको, दायाँ कानमाथि टाउकोमा डेढ इन्च काटी ५ वटा टाँका लगाएको र दायाँ आखीभौंमा आधा इन्च काटी एउटा टाँका लगाएको देखिएको भन्‍ने बेहोराको घटनास्थल लास मुचुल्का । मिति २०७१।९।१५ गते मेरो दाजु सुबोधकुमार दास काम विशेषले भारतको जयनगर गई सोही दिन फर्की आई जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ माडर स्थित रामजानकी मन्दिरमा बास बस्दा रातको समयमा को-कसले सोही स्थानमा मेरो दाजुलाई धारिलो हतियारले काटी गम्भीर घाइते बनाई उपचारको क्रममा मिति २०७१।९।१६ गते सिराहा जिल्ला अस्पतालमा मृत्यु भएको हुँदा उक्त लास दाह संस्कारको लागि जिम्मा बुझी पाउँ भन्‍ने बेहोराको प्रमोदकुमार दासको निवेदन । जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ स्थित रामजानकी मन्दिरमा रहेको पिलरको पूर्व लाइनमा रगत लागी सुकेको देखिएको, सोही मन्दिरको उत्तरपट्टिको कोठामा रहेको कालो झोलाभित्र निलो रङ्गको जिन्स पाइन्ट थान-१, हरियो रङ्गको टिसर्ट थान-१, रातो खैरो रङ्गको तौलिया थान-१, सोही झोलाको अर्कोपट्टि गोजीमा भारतीय नगद रू.६५०।- फेला पारी उक्त कपडा, रकम र झोलासमेत प्रहरीले बरामद गरी लगेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । सुबोधकुमार दासको टाउकोमा चोट लागी मृत्यु भएको भन्‍ने बेहोराको पोष्टमार्टम रिपोर्ट । मेरो छोरा सुबोधकुमार दास मिति २०७१।९।१५ गते बहिनीको घर भारत जयनगर गई सोही दिन फर्कंदा रात पर्न गएकोले जि