निर्णय नं. १०५३१ - अंशबन्डा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५३१ - अंशबन्डा भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०८/०३ ३४०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।८।३ ०७१-CI-०२६४ मुद्दाः- अंशबन्डा पुनरावेदक / वादी : नारायणदत्त भन्ने हरिप्रसाद जैसीको छोरा, पर्वत जिल्ला, शंकर पोखरी गा.वि.स. वडा नं. ४ घर भई हाल चितवन जिल्ला, र.न.पा. वडा नं. ३ हाजिपुर बस्ने लिलाधर रिजाल (जैसी) विरूद्ध विपक्षी / प्रतिवादी : नारायणदत्त भन्ने हरिप्रसाद जैसीको छोरा, पर्वत जिल्ला, शंकर पोखरी गा.वि.स. वडा नं. ४ घर भई हाल चितवन जिल्ला, र.न.पा. वडा नं. ३ हाजिपुर बस्ने बेलप्रसाद रिजाल (जैसी) समेत प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको कानूनी व्यवस्थाले विवाद नरहेको सामान्य अवस्थामा मात्र जुनसुकै अंशियारको नामको सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ तर कुनै अंशियारले कुनै सम्पत्ति आफ्नो निजी हो भनी प्रमाण पेस गर्दछ र सो प्रमाणलाई अन्य अंशियारले सप्रमाण खण्डन गर्न सक्दैनन् भने यस अवस्थामा अंशबन्डा महलको १८ नं. बमोजिम त्यस्तो सम्पत्ति निजी आर्जनको मान्नुपर्ने देखिने । (प्रकरण नं.२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री रामप्रसाद गौडेल र श्री श्यामप्रसाद खरेल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र अधिवक्ता श्री विशेश्वर ढकाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री लेखनाथ ढकाल चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री विनोद प्रसाद शर्मा पुनरावेदन अदालत, हेटौंडा फैसला न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य खण्ड पिता नारायणदत्त भन्ने हरिप्रसाद र आमा रिडी कुमारीबाट विपक्षीहरू जेठो दाजु बेलप्रसाद र माइलो दाजु गंगाधर तथा कान्छो म फिरादी लिलाधरको जन्म भएको हो । पिताको २०४२ सालमा र आमाको म सानै हुँदा मृत्यु भएको हो । हामी भाइहरू हालसम्म छुट्टी भिन्न भएका छैनौँ । म भारतमा नोकरी गरी बस्ने र विपक्षी दाजुहरू नेपालमा बस्ने हुँदा निजहरूले पर्वत तथा चितवनको सम्पत्ति तिम्रो होइन भनी मलाई नदिई एकलौटी खान खोजेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पेस भएको तायदाती फाँटवारीबाट हामी वादी प्रतिवादी ३ अंशियारको ३ भाग लगाई मेरो १ भाग दिलाई चलनसमेत चलाई पाऊँ भन्नेसमेत व्यहोराको वादीको फिरादपत्र । मैले विपक्षीलाई खान लाउन नदिई घरबाट निकाला गरेको छैन । अंश पनि दिन्न भनेको छैन । हामीसँग भएको सबै सम्पत्ति बन्डा लाग्ने हो । सगोलको सम्पत्ति बन्डा भएमा मेरो पनि मन्जुरी नै छ भन्नेसमेत व्यहोराको प्रतिवादी बेलप्रसाद रिजाल जैसीको प्रतिउत्तरपत्र । वादीको दाबी झुट्टा हो । पिता हरिप्रसादको २ श्रीमतीमध्ये कान्छी आमा देवीमाया पनि हुनुहुन्छ । निज आमातर्फबाट छोरा तुलसीप्रसाद र छोरीको जन्म भई छोरीको विवाह भइसकेको छ । छोरा तुलसीप्रसाद बेखबर छन् । मैले असाम आयल इन्डियामा नोकरी गरी कमाएको पैसाले चितवन रत्ननगरमा ०-९-० जग्गा किनेको छु । सो सम्पत्ति मेरो निजी हो, बन्डा लाग्ने होइन । वादी