निर्णय नं. १०५३४ - किर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३४ - किर्ते जालसाजी भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०९/२८ ४१४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।२८ ०६८-CR-००७५ मुद्दाः- किर्ते जालसाजी पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, सिग्याही गा.वि.स. वडा नं. ७ बस्ने जगदीश यादव विरूद्ध प्रत्यर्थी / वादी : महोत्तरी जिल्ला, पडौल गा.वि.स. वडा नं. ६ बस्ने रामचन्द्र यादव अदालतमा अंश मुद्दा विचाराधीन रहेको अवस्थामा सो अंशदर्ता मुद्दामा अदालतको अन्तिम फैसलाले उक्त सम्पत्तिको सम्बन्धमा निर्धारण गरिएको हक नै प्रचलन हुने हुन्छ । अदालतमा विचाराधीन मुद्दाबाट विवादित सम्पत्तिमा जुन प्रकारले हक निश्चित गरी अन्तिम फैसला भएको हुन्छ । मुद्दा पर्दापर्दैको अवस्थामा हक हस्तान्तरण एवं बिक्री व्यवहार गरिएका लिखतको अस्तित्‍व सोही मुल मुद्दाअनुसारकै परिणामअनुकूल नै हुने । अंश मुद्दामा अंशियारको हक कायम हुने ठहर भएकोमा निजको हकमा समेत बिक्री व्यवहार गर्ने हकाधिकार कुनै अन्य अंशियारलाई हुँदैन । सम्पत्तिको सम्बन्धमा मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा त्यस्‍तो सम्पत्ति अन्तिम टुङ्गो नलाग्‍दै हक हस्तान्तरण गरिएको कार्यको परिणाम विचाराधीन मुद्दामा जे निर्णय हुन्छ सोहीअनुसार नै हुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव, श्री खगेन्द्रप्रसाद अधिकारी र अधिवक्ता श्री पुरूषोत्तम ढुङ्गाना प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विनोद श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क ५, नि.नं.९४०८ ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०११२ सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती महोत्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री लोकेन्द्र मल्लिक माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत जनकपुर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत जनकपुरको मिति २०६६।१२।१५ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मैले आमा दाजुभाइसमेत उपर दिएको ०५१ सालको दे.नं.१८२८ को अंश मुद्दाको अन्तिम फैसलाले प्रतिवादी सतिया देवीको नाउँ‘मा दर्ता रहेको कि.नं. ७८ को ०-१-९ र कि.नं. ३१३ को ०–५–३ जग्गाबाट मैले अंश पाउने ठहरी फैसला भएको छ । यसरी मेरो अंश हक लाग्ने जग्गामा मलाई अंश हकबाट वञ्‍चित गर्ने उद्देश्यले मेरो किर्ते सही गरी जालसाजीपूर्ण तरिकाले मिति ०५५।२।१७ मा र.नं.८२२२ बाट बिक्री गरी राजीनामा पास गरे गराएकोले प्रतिवादीहरूले गरेको उक्त किर्ते र जालसाजीपूर्ण कार्यमा निज प्रतिवादीहरूलाई सजाय गरी पाऊँ भन्‍नेसमेत व्यहोराको वादी रामचन्द्र यादवको मिति २०६०।६।२३ को फिराद दाबी । वादीको फिराद दाबी झुट्टा हो । आमा सतिया देवीले म प्रतिवादी जगदीश यादवलाई गरिदिनु भएको राजीनामामा वादी स्वयंले मन्जुरी साक्षी बस्नु भएको छ । वादीको छोरीको विवाह खर्चको लागि म प्रतिवादी जगदीश यादवलाई भिनाजु नवलकिशोर यादवले नै सो जग्गा किन्‍न लगाउनु भएको हो । वादी दाबीअनुसार हामीले किर्ते जालसाज गर