निर्णय नं. १०५३५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५३५ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/१०/१३ १८५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।१०।१३ मुद्दा:- कर्तव्य ज्यान ०७२-CR-०२४९ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, लवाङ्गघलेल गा.वि.स. वडा नं. ३ घर भई हाल कारागार कार्यालय कास्कीमा थुनामा रहेका सुकबहादुर परियार (दमाईं) विरूद्ध प्रत्यर्थी / वादी : धनराज थापा मगरको जाहेरीले वादी नेपाल सरकार ०७२-CR-०६९३ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, ल्वाङ्गघलले गा.वि.स. वडा नं. २ घर भई हाल कारगार कार्यालय कास्कीमा थुनामा रहेका जगदीश गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : धनराज थापा मगरको जाहेरीले वादी नेपाल सरकार ०७२-CR-०७४९ पुनरावेदक / वादी : कास्की जिल्ला, रिभान गा.वि.स. वडा नं. ६ बस्ने धनराज थापा मगरको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कास्की जिल्ला, ल्वाङघलेल गा.वि.स. वडा नं. २ बस्ने ओमन नेपालीसमेत मुद्दामा कुन सजायको माग गरेको हो पुनरावेदनपत्रमा स्पष्ट नखुलाई ज्यानसम्बन्धी महलको ५ र ६ नं. बमोजिम गरिपाऊँ भनी समष्टिगत कानूनी व्यवस्था उल्लेख गरी जिकिर लिएकोमा घटी सजायको जिकिर लिने व्यक्तिले आफ्नो कार्य र घटना कुन कानूनको कुन नम्बरको दायरामा परी घटी सजाय हुनु पर्दछ भनी छुट्याएर जिकिर लिनुपर्ने । (प्रकरण नं.१३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्याय प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री कृष्णकुमारी गुरूङ, श्री सरोज अधिकारी र श्री विश्वराज भट्टराई अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क ३, नि.नं.९७७३ ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९७८ ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५४ ने.का.प.२०७५, अङ्क ११, नि.नं.१०१४३ सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रामप्रसाद ओली कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री प्रेमराज कार्की पुनरावेदन अदालत पोखरा फैसला न्या.बमकुमार श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड कास्की जिल्ला ल्वाङघलेल गा.वि.स. वडा नं.४ कोप्चेपाखाको फेदी स्थित खोराको मुख लुम्रे, ग्रावल सडकको किनारामा मृतक गमबहादुर थापा मगरको शव रहेको, उक्त लासको टाउकोदेखि १ फिट दक्षिण पूर्वमा रगत जमी आहाल बनेको, सो रगतको छेउमा रगत लागेको अं. ८ के.जी.को १ र अं. १ के.जी.को १ ढुङ्गा गरी २ वटा ढुङ्गा रहेको, सो ढुङ्गाको छेउमा रगत लागेको कपाल रहेको, लासको टाउकोदेखि १५ फिटसम्म रगतका छिर्काहरू उछिट्टिएको, लासको बायाँ हातदेखि ९ इन्च पश्चिममा कालो प्लाष्टिकको अङ्ग्रेजीमा जि–सक लेखिएको घडीको टाउको र सो घडीको टाउको छेउमा कालो प्लाष्टिकको घडीको चेन रहेको, लास रहेको स्थानदेखि ६० फिट पश्चिम सडकको छेउमा कालो, खैरो र रातो बुट्टा भएको गलबन्दी, गलबन्दीदेखि ६१ फिट पश्चिममा फलामको फोल्डिङ चक्कु, चक्कुदेखि १० फिट उत्तर पूर्वमा सडकदेखि मुनि एकजोर अङ्ग्रेजीमा हीप्पो लेखिएको कालो चप्पल, लासदेखि ५०० मिटर उत्तरमा बायाँ छेउमा कालो र खैरो रङ्गको दाहिने खुट्टाको चप्पल एक, मृत