निर्णय नं. १०५४४ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५४४ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१९ १४६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०७७।३।१९ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार ०७२-CR-१३९५ पुनरावेदक / वादी : मोरङ “ञ” को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मनीलालको छोरा, जिल्ला मोरङ, टंकिसिनवारी गाउँ विकास समिति वडा नं.३ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेको विनोद ऋषिदेवसमेत ०७२-CR-१६४८ पुनरावेदक / प्रतिवादी : मनीलालको छोरा, जिल्ला मोरङ, टंकिसिनवारी गाउँ विकास समिति वडा नं.३ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेको विनोद ऋषिदेव विरूद्ध प्रत्यर्थी / वादी : मोरङ “ञ” को जाहेरीले नेपाल सरकार एउटै घटनाका सम्बन्धमा कुनै एक प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानमा फरक पर्ने गरी अदालतसमक्ष बयान गर्दछ र सोही घटनामा संलग्न अर्का प्रतिवादीले अदालतसमक्ष बयान गर्दा अनुसन्धानको क्रममा बयान गर्ने प्रतिवादीको बयान व्यहोरासँग मेल खाने गरी बयान गर्दछ र उक्त अनुसन्धानको बयानलाई जाहेरी व्यहोरा, वस्तुस्थिति मुचुल्का र अदालतबाट प्रमाणित भएको पीडिताको बयान व्यहोराबाटसमेत समर्थित छ भने अनुसन्धानको क्रममा गरेको निज प्रतिवादीको बयानलाई अन्यथा भन्नुपर्ने अवस्था नहुने । (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेल, विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री रजिता थापा र अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ४, नि.नं.८८०४ ने.का.प.२०७६, अङ्क २, नि.नं.१०१९० सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल मोरङ जिल्ला अदालत, विराटनगर पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री उदय प्रकाश चापागाई माननीय न्यायाधीश श्री विरेन्द्र कुमार कर्ण पुनरावेदन अदालत विराटनगर फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड जिल्ला मोरङ, टंकिसिनवारी गाउँ विकास समिति वडा नं.३ बस्ने वर्ष ३२ को विनोद ऋषिदेवसमेतको मानिस मेरो चिनजानको मानिस भएको हुनाले निजहरूले मलाई विदेश पठाइदिन्छु भनी सो ठाउँमा पुगेपछि निकै पैसा कमाएर सुखमा जीवन बिताउन पाउँछौ अरूलाई नभन्नु भनी निजहरूले मलाई ललाइफकाई पूर्ण विश्वास दिलाई मिति २०७०।५।२ गतेका दिन मेरो पति आफ्नो घरमा नभएको मौका छोपी मलाई विराटनगरसम्म टेम्पोमा हालेर ल्याई भारतको जोगबनीमा पुर्याई त्यहाँबाट म र बसन्त परियार बसमा चढेर भारतको पटना पुग्यौं र विनोद ऋषिदेव जोगबनीबाटै नेपाल फर्किएका हुन् । हामीहरू भारतको पटनामा पुगेपछि निज बसन्तले चिनेको १ जना मानिससँग भेट भयो र निजहरूले एकान्तमा गफसमेत गरेका थिए । निज बसन्तले मलाई प्लेटफर्ममा लगी तिमी बस्दै गर, म तिम्रो लागि कपडा खरिद गरेर ल्याउँछु भनी निज गएकोमा २/३ घण्टापछि दिल्ली जाने ट्रेन पनि आएको र निज भारतीय अं.४०/४५ वर्षको मानिसले मलाई जाऊँ हिँड बसन्तसँग दिल्लीमा भेट हुन्छ भनी भनेकोले मैले निजको विश्वासमा परी मिति २०७०।५।३ गतेका दिन दिल्लीतर्फ जाने ट