निर्णय नं. १०५५५ - कुटपिट अङ्गभङ्ग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५५ - कुटपिट अङ्गभङ्ग भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०७/२९ २८३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।७।२९ ०६८-CR-०४०३ विषयः- कुटपिट अङ्गभङ्ग पुनरावेदक / प्रतिवादी : सिराहा जिल्ला धनगढी गा.वि.स. वडा नं. २ बस्ने ठकाई सिंहको छोरा वर्ष ४९ को वृजदेव सिंह दनुवार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सिराहा धनगढी २ बस्ने मीना ढकाल (बस्नेत) को जाहेरीले नेपाल सरकार वारदातका समयमा परेको चोटको असरले गर्दा अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्चात् त्यो अङ्गले काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्न सकिने । कुटपिटको २ नं. मा उल्लिखित आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा भन्ने भाषाबाट कुनै पनि तरहबाट दृष्टिविहीन बनाइदिएमा अङ्गभङ्ग ठहर्ने व्यवस्था गरेको छ । तर उपचारपश्चात् त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा दृष्टिविहीन भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री गोविन्द शर्मा बन्दी र श्री रक्षा बस्याल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत राजविराज फैसला न्या.हरिकृष्ण कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड २०६३।४।३१ गतेका दिन बिहान ७ बजेको समयमा प्रकाश पन्जियारसँग कुराकानी गर्दै रहेको अवस्थामा यी अन्यायीहरूले एक हुल जमात बाँधी मलाई गाली गलौज गर्दै विपक्षीहरूले ढुङ्गा, लाठी, इँट्टासमेत बोकी मेरो घरमा प्रवेश गरी प्रहार गर्दा वृजदेव सिंह दनुवारको इँट्टाको प्रहारबाट मेरो बायाँ आँखामुनि लागी सख्त घाइते भएको र अन्य विपक्षीहरूले मेरो अन्य शरीरको अङ्ग जिउसमेतमा कुटपिट गरेको हुँदा घाउ जाँच केस फाराम गराई पाउँ भन्नेसमेत बेहोराको मीना ढकालको निवेदन । मिति २०६३।५।४ को घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको । अन्यायी वृजदेव सिंहले मेरो घरमा २०५६ सालमा डाँका गरी मुद्दासमेत चलेको थियो । निजले मेरो मकै बाली लुटेका र तँलाइ मारी दिन्छु भनी डर धाक धम्की दिँदै गालीसमेत गर्दै आएका थिए । मिति २०६३।४।३१ गतेका दिन ७ बजेको समयमा घरमै प्रकाश पन्जियारसँग गफ गरी बसिरहेका बखत निजहरू एक्कासी मेरो घरभित्र प्रवेश गरी लाठी, हात, मुड्कीले मलाई कुटपिट गरेकाले प्रकाशले छुट्याउन लाग्दा निज वृजदेव सिंहले बोकी ल्याएको इँट्टाको टुक्राले ममाथि प्रहार गर्दा मेरो देब्रे आँखामा लाग्न गएकाले आँखामुनिको हड्डी फ्याक्चर हुनुका साथै देब्रे आँखा पूरै नदेखिने भएको हुँदा विपक्षीहरूलाई पक्राउ गरी कुटपिट अङ्गभङ्गमा सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । मीना ढकालको घाउ जाँच केस फाराम मिसिल संलग्न