निर्णय नं. १०५६६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५६६ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०४/२३ ३२१२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।४।२३ ०७४-NF-००१५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : कन्हैया हरिजनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रूपन्देही जिल्ला कोटहीमाई गा.पा. वडा नं.६ बस्ने तौलन भन्ने राजकुमार मुराउ एउटै कानूनको प्रयोग गर्दा पक्षहरूबिच विभेद र फरक व्यवहार हुने गरी कानूनको प्रयोग गर्नु उचित नहुने । कानूनमा प्रयुक्त शब्दको अक्षरश: अर्थ (literal meaning) गर्दा थप जटिलता, असुविधा र असामञ्जस्यता सिर्जना हुन पुग्दछ भने त्यस्तो अवस्था नआउने गरी नै कानूनको व्याख्या गर्नु श्रेयस्कर हुने । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) मा भएको पुनरावेदनसम्बन्धी व्यवस्थामा “दश वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको मुद्दा” भन्ने उल्लेख भएको देखिएको र सो वाक्यको व्याख्या वा प्रयोग कुनै एक प्रतिवादीलाई १० वर्षभन्दा बढी कैद भएको अवस्थामा त्यस्तो प्रतिवादीको हकमा मात्र आकर्षित नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिहर पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ताहरू श्री टिकाराम लिम्बू र श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : ने.का.प.२०५९, अङ्क ३, नि.नं.७०७० ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३२० सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ / २०७३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालत बुटवल, रूपन्देही सर्वोच्च अदालत संयुक्त इजलासबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख)बमोजिम यस अदालतबाट मिति २०७५/१/१३ मा पुनरावलोकनको अनुमति प्रदान भएअनुसार पुनरावेदनसरह दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- आजभन्दा करिब १ वर्षअगाडि मेरा भाइ बेकारू हरिजनको हलो कुमार मुराउले चोरी गरी लगेको, उक्त हलो पञ्चायत बसी कुमार मुराउलाई फिर्ता दिलाई दिन भनेकोमा कुमार मुराउले हलो फिर्ता नगरेको र जसले मेरो हलो चोरी गरी लगेको छ उसलाई देउता लगाई दिई मारिस्, तँलाई मैले कुनै न कुनै दिन ज्यानै नमारी छाड्दिन, तेरो मृत्यु मेरै हातबाट हुन्छ भन्दै धाकधम्कीसमेत दिँदै आएकोमा मिति ०६६।६।१८ गतेका राति अं. ११:०० बजेको समयमा कुमार मुराउले साथमा कटुवा पेस्तोल लिई अन्य नाम, थर, वतन थाहा नभएको एकजना व्यक्तिलाई समेत लिई आई घरको ओसरामा सुतेको मेरो भाइ बेकारू हरिजनलाई छातीमा गोली हानी कर्तव्य गरी मारी फरार रहेकाले कुमार मुराउसमेतको खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कन्हैया हरिजनको जाहेरी दरखास्त । जिल्ला रूपन्देही बोगडी गा.वि.स. वडा नं. ४ स्थित पूर्वमा सडक, पश्‍चिम बाबुलाल कोइरीको खेत, उत्तर कनही हरिजनको घर, दक्षिण बेकारूको घर यति चार किल्लाभित्र रहेको बेकारूको घरको आँगनमा रहेको खटियामाथि उत्तर टाउको, दक्षिण गोडा गरी उत्तानो अवस्थामा बेकारू हरिजन