निर्णय नं. १०५७४ - उत्प्रेषण / प्रतिषेध / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७४ - उत्प्रेषण / प्रतिषेध / परमादेश भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/२३ १८१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।१०।२३ ०६८-WO-०८८५ मुद्दाः- उत्प्रेषण / प्रतिषेध / परमादेश निवेदक : कान्छा तण्डुकारको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५ तिनकुने बस्ने रामबहादुर तण्डुकार विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत राज्यले सार्वजनिक प्रयोजन एवं बृहत्तर राष्ट्रिय हितका लागि व्यक्तिको सम्पत्तिसम्बन्धी हकमा नियन्त्रण, नियमन र अङ्कुश लगाउन सक्ने । (प्रकरण नं.३) एकपटक जग्गा छाडी सडक विस्तार भइसकेकोमा अब त्यस्ता व्यक्तिहरूलाई आफ्नो पूर्वसहमतिबाट भाग्ने अवसर प्राप्त नहुने । (प्रकरण नं.४) सडक सीमा तोकेको स्थितिमा पर्खालबाहेकका संरचना निर्माण गर्न मिल्दैन । कानूनको अवज्ञा गरी संरचना निर्माण गरेमा त्यसको परिणाम सम्बन्धित व्यक्तिले भोग्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद गौडेल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद देवकोटा अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ९, नि.नं.१०१०२ सम्बद्ध कानून : जग्गा प्राप्ति ऐन, २०३४ सार्वजनिक सडक ऐन, २०३१ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ बमोजिम दायर हुन आएको यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ: तथ्य-खण्ड म निवेदक का.जि.का.म.न.पा. वडा नं. ३५ को स्थायी बासिन्दा हुँ । का.जि.का.म.न.पा. वडा नं १०, (जुन हाल परिवर्तन भई वडा नं. ३५ कायम भएको छ) कि नं. १६४, २०७, २१० र १०३ को क्रमशः क्षे.फ. ०-२-२-०, ०-१-०-०, ०-६-३-२ र ०-१-२-० जग्गा म निवेदकको निर्विवाद हक भोग स्वामित्वको जग्गा हो । उक्त जग्गा कानूनबमोजिम म निवेदकको नाममा दर्ता भई म निवेदकले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरी अद्यापिसम्म निर्वाध रूपमा हकभोग चलन गर्दै कानूनबमोजिम लाग्ने मालपोतलगायतका करहरू अविच्छिन्न रूपमा तिर्दै बुझाउँदै आएको छु । मेरो नाममा दर्ता रहेको उक्त जग्गामा काठमाडौं महानगरपालिकाबाट कानूनबमोजिम नक्सा पास गरी तथा स्वीकृति लिई नियमानुसार लाग्ने दस्तुर तिरी घर भवनलगायत अन्य संरचनासमेत निर्माण गरी व्यापार व्यवसाय एवं बसोबास गर्दै आएको छु । उल्लिखित घर जग्गाको पूर्व दक्षिणतर्फ काठमाडौं तिनकुने चोक (अरनिको राजमार्ग) र चक्रपथ जोड्ने लिंक रोड (शाखा सडक) पर्दछ । विपक्षी का.म.न.पा. र काठमाडौं उपत्यका नगर विकास समितिले तोकेको मापदण्डभित्रै सीमित रही घर तथा अन्य संरचना निर्माण गरेको अवस्थामा पनि विपक्षीहरूले मिति २०६८।१०।२२ मा म निवेदकको घरवास रहेको स्थानमा सो शाखा सडकको केन्द्र रेखादेखि २० मिटरसम्मको मेरो जग्गामा निर्मित संरचना भत्काई जबरजस्ती सडक विस्तार गर्ने भन्दै म निवेदकले आफ्नो जग्गामा निर्माण गरेको संरचनामा चिह्न लगाई सो चिह्नसम्मको संरचना भत्काउनु पर्छ भनी मौखिक सूचनासमेत दिई जानुभयो । प्रचलित कानून तथा विपक्षीहरूले तोकेको मापदण्डभन्दा बढीको मेरो जग्गामा जबरजस्ती सडक विस्तार गर्ने कार्य रोकिपाउँ भनी म निवेदकले विपक्षी नगर विकास समितिमा मिति २०६८।१०।२२ मा द.नं. २५७७ को निवेदन दिएकोमा उक्त निवेदनमा के कारबाही भयो