निर्णय नं. १०५९५ - लागु औषध (खैरो हेरोइन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५९५ - लागु औषध (खैरो हेरोइन) भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/०१ ५०४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।१ ०७१-CR-०९६८ मुद्दाः- लागु औषध (खैरो हेरोइन) पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्‍तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १३ ताहाचल बस्ने मुकेशकुमार दाससमेत समूहमा मिली लागु औषधको कारोबार तथा ओसारपसारको कसुरमा संलग्न रहेको पुष्टि हुन्छ भने समूहका प्रत्येक व्यक्तिबाट लागु औषध बरामद हुन आवश्यक हुँदैन । त्यो अवस्थामा समूहका सबैले आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । तर समूहमा मिली कसुरमा संलग्न रहेको प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्थामा लागु औषध बरामद नभएका प्रतिवादीहरूलाई समेत सँगै रहेको वा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको भन्ने आधारमा मात्र कसुरदार ठहर गरी आपराधिक दायित्व वहन गराउनु न्यायसङ्गत नहुने । सामूहिक रूपमा लागु औषधको कसुरमा संलग्न भएका व्यक्तिहरूले कुनै न कुनै रूपमा कसुर गर्नमा भूमिका निभाएको वा कुनै न कुनै रूपमा कसुरमा संलग्न रहेको तथा प्राप्त हुने लाभमा हिस्सेदार भएको अवस्था देखिनुपर्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७२८ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा. जि. न्यायाधीश श्री शेखरप्रसाद पौडेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र (ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य एवं पुनरावेदन अदालत पाटनको फैसलाको बेहोरा सो अदालतको फैसलाबाट देखिने हुँदा यसमा पुनरावृत्ति गरिएको छैन । पुनरावेदक वादीको पुनरावेदन जिकिर तथा यस अदालतको निर्णय यसप्रकार छः पुनरावेदक वादीको पुनरावेदन प्रस्तुत मुद्दामा प्रतिवादी मुकेशकुमार दासले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूसमेतको संलग्नता र मिलेमतोमा भारतीय नागरिक बब्बन सिंहले दिएको हातहतियारसमेत ल्याएको र आफ्नो साथबाट हतियार बरामद भएको, गणेशप्रसाद सिंह र अनिल बानियाँको साथबाट हातहतियार र लागु औषध हिरोइनसमेत बरामद भएको कुरा स्वीकार गरेका र अर्का प्रतिवादी ओमप्रकाश साहले आफू ना. २ ख ५२८२ नं. गाडीको कन्डक्टर भएको र सो गाडीमा लागु औषधसमेत राखी राजविराजबाट काठमाडौंसम्म ल्याइदिएबापत रू. २१ हजार लिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष साबिती रहेको देखिन्छ । लागु औषधको कारोबार सङ्गठित रूपमा गरिने भएको हुँदा अपराधमा संलग्न प्रत्येक व्यक्तिको सँगसाथबाट व्यक्तिगत रूपमा दशी बरामद नहुन पनि सक्छ । सङ्गठित रूपमा गरिने लागु औषधको कारोबारमा अलगअलग प्रतिवादीहरूले अलगअलग भूमिका वा कार्यको जिम्मेवारी लिई आपसी समन्वय र सञ्चारबाट अपराधलाई पूर्णता दिइन्छ । अत: लागु औषध जस्तो संवेदनशील र गम्भीर मुद्दामा प्रतिवादीले अदालत