निर्णय नं. १०६१६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६१६ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०४/२१ २२१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।४।२१ ०७६-CR-०९०६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : हर्कबहादुर ऐरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली, सुगरखाल गा.वि.स. वडा नं.२ ताम्चा बस्ने विशाल घर्तीमगर अभियुक्तलाई चुप लाग्ने तथा आफूउपरको अभियोगउपर आधार र कारणसहित प्रतिवाद गर्ने दुवै अधिकार रहने भएको हुँदा न्यायिक प्रक्रियामा सहयोग नगरेको आधारमा मात्र अभियोग दाबीअनुसार कसुरदार ठहर गर्दा न्यायको मर्म तथा प्रचलित कानून प्रणाली प्रतिकूल निर्णय हुन जाने । (प्रकरण नं.३) मौकामै दिएको जाहेरीमा किटानी रूपमा नाम उल्लेख नभई त्यसपछिको जाहेरीमा थप प्रतिवादीको नाम उल्लेख भएकोमा त्यसलाई सावधानीका साथ हेर्नुपर्छ । प्रतिवादी मौकामा फरारी रहेको कारणले मात्र उसलाई आरोपित कसुरमा दोषी करार गर्नु फौजदारी न्यायको मान्‍य सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : उपन्यायाधिवक्ता गोविन्द न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, नि.नं.१०२७४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री परशुराम भट्टराई कैलाली जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजकुमार वन माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत दिपायल फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मिति २०६६।८।१९ गते मसमेतको प्रहरी टोली जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी घर टहरा बनाई बसेका हुँदा निजहरूलाई सो स्थानबाट हटाई जङ्गल खाली गर्नको लागि सो स्थानमा गई वन अतिक्रमणकारीहरूलाई हटाउने क्रममा डिउटीमा रहेको प्र.ज.पदम सिंह ऐरलाई चारैतिरबाट घेरा हाली लगी निजको टाउको तथा शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई मृत्यु भएको र प्र.ना.नि. कल्याण सिंह महरालगायतका मानिसहरू सख्त घाइते भएको हुँदा सो स्थानबाट बञ्चरो हातमा बोकी भाग्न लागेका महेशप्रसाद जैशीलाई घटनास्थलबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको मिति २०६६।८।२० को प्रहरी प्रतिवेदन । मेरो भाइ पदम सिंह ऐर मिति २०६६।८।१९ गते अञ्चल सशस्त्र प्रहरी गुल्म धनगढीबाट जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं.८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा डिउटीमा रहेको अवस्थामा महेशप्रसाद जैशीसमेतले टाउकोमा धारिलो हतियार प्रहार गरी मारेको हुँदा निज अन्यायीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मृतकका भाइ हर्कबहादुर ऐरको तर्फबाट पेस भएको जाहेरी दरखास्त । जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ र ९ को सिमानामा पर्ने डुडेझाडी वनस्थित पूर्वमा वन जङ्गल, पश्चिममा वन जङ्गलका रूख विरूवा, उत्तर-पूर्व पश्चिम महेन्द्रराजमार्ग सडक यति चार किल्लाभित्र वन अतिक्रमणकारीहरूले टहरा घर बनाई बसेकोमा निजहरूका घर टहराहरू हटाउन मिति २०६६।८।१९ गते प्रहरी टोलीले सो स्थानमा रहेका मानिसहरूलाई हट्न अनुरोध गर्दा प्रतिकार गर्नको लागि महेशप्रसाद जैशीले हातमा बोकेको बञ्चरोले प्र.ज.पदम सिंह