निर्णय नं. १०६१८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६१८ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०८/०५ ६४०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।८।५ ०७६-RC-०१२३ मुद्दा:- कर्तव्य ज्यान वादी : प्रमिला मगरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा नगरपालिका वडा नं. १३ असारी घर भई हाल कारागार कार्यालय उदयपुरमा कैदमा रहेका मोहन घले गुरूङ मृतकको शव परीक्षण गर्ने डाक्टरले कुनै आधार कारण नखुलाई मृत्युको कारण Opinion on Cause of Death Hanging भनी उल्लेख गरेको शव परीक्षण प्रतिवेदनलाई मात्र आधार मानी मृतकले झुन्डिएर आत्महत्या गरेको भनी निर्ष्कषमा पुग्न नसकिने । विशेषज्ञको राय, आधार र कारण अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएमा मात्र त्यस्तो रायलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुर कार्की प्रतिवादीका तर्फबाट : वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२ ने.का.प.२०७६, अङ्क ७, नि.नं.१०३०२ सम्बद्ध कानून : केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री तीर्थराज के.सी. उदयपुर जिल्ला अदालत, गाईघाट पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विदुर विक्रम थापा माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उ.अ.विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.हरिप्रसाद फुयाल : यसमा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम साधक जाँचका लागि पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ असारी स्थित मोहन घले गुरूङको घरको टाडमाथि सीता गुरूङको पश्चिम टाउको पूर्व खुट्टा भई उत्तानो अवस्थाको लास रहेको, लासदेखि ११ इन्च दूरीमा सनपाटको डोरी सुर्कानो अवस्थामा रहेको, मृतकको दायाँ बायाँ चुरा फुटी यत्रतत्र छरिएको, मृतक सुतेको सुकुलमाथि रगतजस्तो पदार्थ लागी सुकेको, मृतकको दायाँ हातको नाडीमा सानो चोट निलो रातो डाम र रगत जस्तो पदार्थ लागी सुकेको, मृतकको घाँटीको दाहिनेपट्टि गर्धनमा ९ इन्च लामो घुमेको डाम रहेको भन्नेसमेत बेहोराको घटनास्थल लास जाँच मुचुल्का । आमा सीता गुरूङको पहिलो श्रीमान् ज्ञानबहादुर राईतर्फ हामी दुई सन्तान म जाहेरवाली र भाइ सन्तोष राईको जायजन्म भएपछि आमा सीताले हाम्रो बुबालाई छाडी हामीसमेतलाई साथमा लिई मोहन घलेसँग दोस्रो विवाह गरी घर व्यवहार गरी आउने क्रममा म जाहेरवालीको मोहन घलेकै घरबाट विवाह भई म आफ्नै घर व्यवहार गरी आएकी र मोहन घलेसँग आमा सीता र भाइ सन्तोष राई बस्दै आएका थिए । सौतेनी बाबु मोहन घले प्रायः मादक पदार्थ सेवन गरी घरमा आई आमालाई कुटपिट गरी मानसिक र शारीरिक यातना दिँदै आउने गरेको आमाले आफूलाई बताउँदै आउनु भएको थियो । यस्तैमा मिति २०७४/०१/०९ गते बेलुकी ८ बजेको समयमा निज सौतेनी बाबु मोहन घले के कहाँबाट मादक पदार्थ सेवन गरी घरमा आई आमा सीतासँग वादविवाद गरी कुटपिट गरेको र आमाको सोही घरमा अचानक मृत्यु भएको भन्ने थाहा पाई असारी स्थित घरमा आई बुझ्दा निज सौतेनी बाबुले आमालाई कुटपिट गरेको भाइ सन्तोषसमेतले बताएको र आमाको लास हेर्दा दाहिने हातमा चोट