निर्णय नं. १०६१९ - शेषपछिको बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६१९ - शेषपछिको बकसपत्र बदर भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०८/०९ ९१९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री डा.मनोजकुमार शर्मा फैसला मिति : २०७७।८।९ मुद्दा:- शेषपछिको बकसपत्र बदर ०७०-CI-१२७४ पुनरावेदक / प्रतिवादी : नगेन्द्रकुमार भण्डारीको श्रीमती काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने प्रमिला भण्डारीसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने ध्रुवबहादुर भण्डारी ०७१-CI-००१० पुनरावेदक / वादी : खड्‌गबहादुर भण्डारीको छोरा काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने ध्रुवबहादुर भण्डारी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नगेन्द्रबहादुर भण्डारीको श्रीमती काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने प्रमिला भण्डारीसमेत कुनै अंशियारले अंश वा कुनै मुद्दा चलेको नभए पनि वा अंश मुद्दा चल्दै गरेको अवस्थामा आफ्नो अंश भाग अष्टलोह आदि जे भएको आफ्नो जीवित कालमा नै अंशियारभित्रको वा बाहिरको अन्य व्यक्तिलाई कुनै पनि बेहोराले हक छाडिदिएमा त्यस्तो कार्य हक भएको व्यक्तिले गर्न पाउने । कुनै पनि व्यक्तिको सम्पत्तिमाथिको हक जीवित कालसम्म निर्वाध रूपले उसलाई प्रयोग गर्न दान दातव्य वा जुन सुकै बेहोराले हक हस्तान्तरण गर्न ऊ स्वतन्त्र हुन्छ । उसको यस्तो स्वतन्त्र अधिकारमा कुनै पनि अवस्थामा नियन्त्रण गर्न र अङ्कुश लगाउन नमिल्ने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री विश्व सिग्देल र श्री धिरेन्द्र रावल अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ३, नि.नं.८११० सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.अतिरिक्त जि.न्या.श्री शम्भुबहादुर कार्की काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह पुनरावेदन अदालत पाटन फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड म पिता खड्‍गबहादुर भण्डारीका दुई श्रीमतीहरू जेठीआमा निमकुमारी भण्डारीबाट दाइ महेन्द्रबहादुर भण्डारीको जन्म भएको र कान्छी तथा मेरी आमा पदमकुमारी भण्डारीबाट म ध्रुवबहादुर, भाइ नगेन्द्रबहादुर र बहिनी शोभाको जन्म भएको हो । पिता खड्‍गबहादुरको २०५०।४।१० मा र जेठी आमा निमकुमारी अघि नै परलोक भइसक्नु भएको थियो । हामी अंशियारहरू एकासगोलमा बसेका थियौं । अंश छुट्याई नदिँदा दाजु महेन्द्रबहादुर भण्डारीका विरूद्ध २०५२ सालमा अंश मुद्दा दायर गरेको थिए । आमा पदमकुमारी, भाइ नगेन्द्र र बहिनी शोभाहरूका साथमा नै म बसेको थिएँ । मैले दिएको अंश मुद्दामा आमा पदमकुमारी र भाइ नगेन्द्रलाई अ.बं. १३९ नं. बमोजिम बुझ्ने आदेश भएको र फिराद परेको दिनलाई मानो छुट्टिएको मिति मानी तायदाती माग्ने आदेश भएको, आमाको नामसमेत राखी आफैँ वारेस भई भाइले मसमेतका विरूद्धमा अंश मुद्दा यस अदालतमा दायर गरेको सो मुद्दासमेत विचाराधीन हुन पुग्यो । भाइ नगेन्द्रले ८२ वर्षकी अति नै वृद्ध र होस ठेगानामा नभएकी आमा पदमकुमारीलाई आफ्नो अनुचित प्रभावमा पारी अन्य कुनै छोराहरूलाई जानकारी तथा सुइँकोसम्म केही नदिई मिति २०५७।३।७ गते नै मालपोत कार्या