निर्णय नं. १०६२३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२३ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०९/१० ३१२१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मितिः २०७६।९।१० ०७४-NF-००१० मुद्दा : कर्तव्य ज्यान निवेदक / प्रतिवादी : जिल्ला सुर्खेत विरेन्द्रनगर.न.पा. वडा नं. १० बस्ने दिलीप बस्याल विरूद्ध प्रत्यर्थी / वादी : श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार मतलबमा पस्नु भनेको यसको सोझो अर्थ ज्यान मार्ने साझा योजना (Common plan) मा संलग्न रहेको भन्ने नै हो । साझा योजना बनेको छैन, योजना बनेको भए पनि आरोपित व्यक्ति त्यस्तो योजना बनाउनमा संलग्न छैन वा जानकार छैन भने निजको हकमा १७ नं. आकर्षित हुँदैन । ज्यानसम्बन्धीको १७ नं. को उपर्युक्त व्यवस्थालाई परम्परागत फौजदारी कानूनको भाषामा व्याख्या गर्दा मतलबमा पस्ने त्यस्तो व्यक्तिले वारदात स्थलमा उपस्थित भई वारदात घटाउन प्रत्यक्ष सहयोग गरेको अवस्थामा निज मुख्यतः दोस्रो तहको मुख्य कसुरदार (Principal in the second degree, or accessory at the fact) र सो नं. को अन्त्यमा "लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई" भन्ने शब्दावली प्रयोग भएबाट त्यस्तो अवस्थामा आरोपित व्यक्ति मतियार (aider, abettor, accessory before/after fact) समेत हुन सक्ने देखिन्छ । अर्को शब्दमा ज्यानसम्बन्धीको १७ नं. मा उल्लिखित "मतलबी" शब्दले दोस्रो तहको मुख्य कसुरदार र मतियार दुवैलाई समेट्ने देखिन्छ । यो "मतलबी" वारदात घटाउने मतलबमा पस्छ, त्यसबारे प्रत्यक्ष जानकारी राख्छ वा सहमति जनाउँछ, घटना घटोस् भनी चाहना राखी निज साझा योजनामा कुनै न कुनै रूपमा सहभागी भएको हुने । (प्रकरण नं.५) जसरी मुख्य कसुरदारको हकमा मनसाय (Mens rea) पत्तालगाउने सन्दर्भमा उसको कार्य (Actus reus) हेरिन्छ, मतियारको हकमा पनि सोही माध्यम प्रयोग गरिन्छ र गरिनुपर्छ । अर्थात् उसले गरेको कार्यको अध्ययनबाट नै उसमा रहेको मनसाय तत्त्व सबैभन्दा भरपर्दो रूपमा पत्ता लगाउन सकिन्छ । आरोपित व्यक्तिले आपराधिक कार्य गर्न जे माध्यम प्रयोग गरेको भए पनि त्यस्तो कार्यले नै उसमा रहेको मनसाय तत्त्वलाई स्पष्ट र प्रकट रूपमा देखाएको हुन्छ भन्ने कुरालाई न्यायको रोहमा ध्यानपूर्वक विचार गरिनुपर्ने । (प्रकरण नं.६) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनाली र विद्वान् अधिवक्ता श्री लिलामणी पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कृष्णबहादुर थापा सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश गोविन्दकुमार श्रेष्ठ माननीय न्यायाधीश प्रकाशराम मिश्र पुनरावेदन अदालत सुर्खेत यसमा अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुशीला कार्की मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.डा.आनन्दमोहन भट्टराई : यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।१।२ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदनमा मिति २०७४।१०।१२ मा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः