निर्णय नं. १०६२७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६२७ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/१०/१९ १७४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७६।१०।१९ ०७३-WO-०२४५ विषय : उत्प्रेषण निवेदक : जिल्ला सोनभद्र चोपान नगरपालिका वडा नं.८ भारत स्थायी घर भई जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.एम.बि.बि.एस.तहको पहिलो सत्रमा अध्ययनरत विनीतकुमार वर्मा विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत मेडिकल कलेजले आफूलाई तोकिएको विदेशी विद्यार्थी भर्ना लिन पाउने अधिकारभन्दा बढी संख्यामा भर्ना लिने कार्यलाई भविष्यमा वैधानिकता दिन नमिल्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री महेशकुमार नेपाल र विद्वान्‌ अधिवक्ता श्री रमेशकुमार बस्नेत विपक्षीका तर्फबाट : विद्वान्‌ नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डे, विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री निरञ्‍जन आचार्य, विद्वान्‌ अधिवक्ता श्री योगेन्द्र भट्टराई अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ३, नि.नं.८९७८ सम्बद्ध कानून : नेपाल मेडिकल काउन्सिल ऐन, २०२० काठमाडौं विश्वविद्यालय ऐन, २०४८ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६ र १३३(२) एवं (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड म निवेदक भारतीय नागरिक हुँ । निवेदकले सन् २००६ मा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट कक्षा १२ मा प्रथम श्रेणीमा उत्तीर्ण भएपश्चात् चिकित्सा शास्त्रको अध्ययन गरी मानव सेवामा आजीवन समर्पित हुने उद्देश्यले चिकित्सा शास्त्रको अध्ययनको लागि विपक्षी काठमाडौं विश्‍वविद्यालयद्वारा सम्बन्धन प्रदान गरिएका कलेजमा भर्नाको लागि तयारी गरी २६ सेप्टेम्बर २०१५ मा विपक्षी काठमाडौं विश्‍वविद्यालयले लिएको प्रवेश परीक्षा (कुमेट) मा उत्तीर्ण भएको थिएँ । उक्त प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि विपक्षी नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.मा भर्नाको लागि सन् २०१५।९।२७ मा आवेदन दिई सन् २०१५।११।१५ गते विपक्षी कलेजसँग विद्यार्थी भर्नासम्बन्धी करार गरी कलेजको नियमानुसारको भर्ना शुल्क बुझाई भर्ना भएको थिएँ । म निवेदकले विपक्षी विश्‍वविद्यालयको परीक्षा उत्तीर्ण गरी विश्‍वविद्यालय र कलेजको नियमानुसार सम्पूर्ण प्रक्रिया पूरा गरी भर्ना भई विपक्षी कलेजमा निरन्तर नियमित रूपमा एम.बि.बि.एस. तहको पहिलो वर्षमा अध्ययनरत रही कलेजले लिने आन्तरिक परीक्षाअन्तर्गतको पहिलो सेमेष्टरको परीक्षामा सहभागी भई सो परीक्षामा उत्तीर्णसमेत भई नियमित रूपमा अध्ययन गरी आएकोमा विपक्षी कलेजले विपक्षी विश्‍वविद्यालयको ४ सेप्टेम्बर २०१६ (२०७३।५।१९) को पत्रको हवाला दिँदै हाल यस कलेजमा सञ्‍चालित एम.बि.बि.एस.तहको अगष्ट २०१५ समूहको मसमेतका विद्यार्थीहरूको नाम रजिस्ट्रेसन गर्न काठमाडौं विश्‍वविद्यालयले इन्कार गरेको हुँदा आजकै मितिबाट तपाइँहरूलाई यस कलेजमा अध्ययन अध्यापनको लागि सहभागी नगराइने भन्‍ने बेहोरा सूचनामा म निवेदकसहितको नाम समावेश गरी ६ सेप्टेम्बर २०१६ (२०७३।५।२१) मा प्रकाशित गरेकोले विपक्षीहरूको उल्लिखित कार्यले म निवेदकको नेपालको संविधानको धारा १७(१), धारा १८(१), २७ समेतद्वारा प्रदत्त संवैधानिक हक तथा काठमाडौं विश्