निर्णय नं. १०६३१ - हाडनाता तथा जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६३१ - हाडनाता तथा जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/०३/२६ ३५७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।२६ ०७३-CR-००६९ मुद्दा : हाडनाता तथा जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, नवलपुर गा.वि.स. वडा नं.३ स्थायी घरबास भई ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.२२ चाकुपाट बस्ने हाल जिल्ला कारागार शाखा नख्खुमा थुनामा रहेका परिवर्तित नाम चाकुपाट (ग) विरूद्ध प्रत्यर्थी / वादी : चाकुपाट (क) को जाहेरीले नेपाल सरकार जबरजस्ती करणी मुद्दामा पीडितले व्यक्त गरेका कुराहरू कृत्रिम र बनावटी जस्तो देखिएको, अन्य प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको तथा पीडितको भनाइमा निकै विरोधाभाष भई शंकास्पद देखिएको अवस्थामा बाहेक पीडितको बयानमा सत्यता छ भन्‍ने अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लवप्रसाद मैनाली र अधिवक्ता श्री ज्ञानबहादुर श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य जाहेरवालाको तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री शोभा पोख्रेल र श्री सन्तोष महर्जन अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९ ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१० ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टेकनारायण कुँवर ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड मेरो छोरी वर्ष १५ की हाल परिवर्तित नाम जावलाखेल (छ) कक्षा ९ मा अध्ययन गर्दै आइरहेकी छन् । छोरीको जुत्ता सानो भएको कारणले मिति २०७१।०१।२४ गतेका दिन स्कुल नगई कोठामा नै बसेकी थिइन् । मेरो श्रीमान् परिवर्तित नाम चाकुपाट (ग) नाइटमा सवारी चालकको काम गर्ने र दिनभर कोठामा नै सुत्ने गर्नुहुन्थ्यो । सो दिनमा पनि श्रीमान् कोठामा नै सुतिरहनु भएको थियो । म जाहेरवाला कामको सिलसिलामा कोठाबाट बाहिर गएको बखत उक्त दिन दिउँसो अं.१४:०० बजेको समयमा आफ्नै कोठा चाकुपाटमा आफ्नै छोरी वर्ष १५ की जावलाखेल (छ) लाई कोठामा चुकुल लगाई‚ धाक धम्की दिई‚ डर त्रासमा पारी जबरजस्ती करणी गरेको र सो कुरा कसैलाई नभन्नु‚ भनेमा तेरो आमा र तँलाईसमेत जे पनि गर्न गराउन सक्छु भनी धाकधम्की दिएको रहेछ । छोरीले सो कुरा फोनबाट मेरी बहिनीलाई बताएकी हुँदा मैलेसमेत थाहा पाएकोले यो जाहेरी दिन आएकी छु । निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम चाकुपाट (क) को मिति २०७१।०१।२९ जाहेरी दरखास्त । ललितपुर जिल्ला‚ ललितपुर उ.म.न.पा.‚ वडा नं. २२‚ चाकुपाट सैंठु गणेश स्थित पूर्वमा ज्यापु कल्याण भवन तथा खाली पार्क रहेको, पश्चिममा खाली जग्गा, उत्तरमा शर्मिला महर्जनको साढे दुई तले पक्की घर, दक्षिणमा खाली जग्गा यति चार किल्लाभित्र विन्दे कुमालको साढे पाँच तले पक्की घरको मूल ढोकाबाट प्रवेश गरी हेर्दा सो घरको पहिलो तल्लामा २ वटा कोठाहरू रहेको‚ सो कोठाम