निर्णय नं. ९१९६ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१९६ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७०/१०/२६ ३५९७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति : २०७०।१०।२६।१ ०७०–WO–०३१६ विषय : उत्प्रेषण/परमादेश । निवेदक/पक्ष : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २२ तपाहिती टोल बस्ने भाइराम खड्के विरूद्ध प्रत्यर्थी/विपक्षी : तनहुँ जिल्ला, दुलेगौंडा गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने ज्ञानु वैद्यसमेत § वादीले दिएको फिरादपत्र जिल्ला अदालतबाट प्रकाशित सूचना म्यादमा निवेदकको ठेगाना मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं. ८ पशुपतिनगर भनी उल्लेख गरिएको देखिन्छ । तर निवेदकले निवेदनमा आफ्नो ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २२ तपाहिती भनी उल्लेख गरेको र निवेदनसाथ पेस गरेको निजको नागरिकताको प्रतिलिपिबाट समेत निजको ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २२ तपाहिती भन्ने उल्लेख भएको देखिँदा निवेदकको ठेगाना फिरादमा उल्लिखित ठेगाना एकै रहेछ भनी मान्न नमिल्ने । (प्रकरण नं. ३) § निवेदकको ठेगाना तथा बाबुको नाम नै गलत उल्लेख भएको अवस्थामा जिल्ला अदालतबाट निवेदकको नाममा प्रकाशित सूचनाले सहीरूपमा सम्बन्धित पक्षले जानकारी पाउन सक्छ भनी मान्न मिल्ने अवस्था नदेखिने । § वादीले फिरादमा उल्लेख गरेको ठेगाना राखी गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी जारी भएको भनिएको म्यादबाट निवेदकले आफ्नै नामको म्याद हो भनी यकिन हुन तथा निजले जानकारी पाएको होला भनी अदालतबाट अनुमान गर्न नमिल्ने । § म्याद तामेली नै कानूनबमोजिम रीतपूर्वकको हुँदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसलासमेतबाट प्राकृतिक न्यायको सिद्धान्तको हनन् भएको नै सम्झनुपर्ने । § आफ्नो मुद्दामा कानूनबमोजिम प्रतिवाद गर्न पाउने हकलाई कसैले हनन् गर्न सक्तैन । यसरी प्रतिवाद गर्न पाउने त्यस्तो कानूनी हक प्राकृतिक न्यायको सिद्धान्तमा आधारित रहने हुँदा प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हुने गरी भएको काम कारवाहीले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ४) § कुनै पनि न्यायिक प्रकृतिको निर्णय गर्दा न्याय सम्पादन गर्ने निकाय सदा निष्पक्ष हुनुपर्छ र हरेक पक्षलाई पूर्ण र स्वच्छरूपले सुनुवाइ गर्ने यथेष्ट मौका दिनुपर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । न्यायको सारभूत आवश्यकता प्राकृतिक न्यायको सिद्धान्तलाई उपेक्षा गर्न नहुने । (प्रकरण नं. ५) § निवेदकको नाममा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र सोको आधारमा एकतर्फी सुनुवाइ गरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०६९।१२।२७ को फैसला रीतपूर्वकको मान्न नमिल्ने हुँदा उत्प्रेषणको आदेशले बदर हुने । § मुलुकी ऐन, अदालती बन्दोवस्तको २०८ नं. बमोजिम फैसला भएको ६ महिनाभित्रै प्रतिउत्तर लिई उपस्थित भएका यी निवेदकको नाममा प्रकाशित उक्त सूचना म्यादलाई रीतपूर्वक तामेल भएको मानी सुनुवाइको मौका नदिई भएको जिल्ला अदालतको आदेश र उक्त आदेश सदर गर्ने गरेको पुनरावेदन अदालतको आदेशसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६) निवेदक/पक्षका तर्फबाट : विद्वान् अधिवक्ता सिजु पाठक प्रत्यर्थी/विपक्षीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६९, अङ्क ८, नि.नं. ८८७१, पृ. ११९६ सम्बद्ध कानून : मुलुकी ऐन, अदालती बन्दोवस्तको १७, २०८ नं.